आज महाशिवरात्रि, भगवान शिवको आरधना गर्दै मनाईंदै

काठमाडौं । आज हिन्दुधर्मावलम्बीको महान पर्व महाशिवरात्रि देश तथा विदेशमा मनाईंदैछ । आराध्यदेव भगवान् शिवको पूजा–आराधनाका साथ यो पर्व मनाउने गरिन्छ । आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ । भगवान शिवको मूख्य मन्दिर काठमाडौंको पशुपतिनाथसहितका देशभरका शिवालयमा भक्तजनको घुईचो लाग्छ ।

पशुपतिनाथ मन्दिरमा मात्र १० लाख भन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ । भगवान शिवको पूजा आराधनाबाट सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने विश्वास गरिन्छ । व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने प्रचलन रहेको छ ।

आज भगवान् महादेवलाई जाडो हुने जनविश्वाससहित घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तन गरिन्छ । पशुपतिनाथ दर्शनको काम आज बिहान ४ बजेदेखि शुरु भएको हो । पशुपतिका चार ढोका खोलिएको छ ।