काठमाडौं । आज राष्ट्रिय सभा निर्वाचन अन्तर्गत आज मतदान हुदैछ । आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सदस्यका लागि आज सात वटै प्रदेशमा निर्वाचन हुन लागेको हो । नतिजा आजै सार्वजनिक हुने छ । निर्वाचन आयोगका अनुसार मतदान ९ बजेबाट शुरु भइ ३ बजे सम्पन्न हुनेछ । त्यसपछि मतगणना हुनेछ ।
निर्वाचनमा सरकारमा रहेका पाँच दलले गठबन्धन गरेका छन् । मधेश प्रदेशमा प्रमुख प्रतिपक्षी नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गठबन्धन गरेका छन् । राप्रपाले प्रदेश १ मा बाहेक अन्त मतदान नगर्ने निर्णय गरेको छ ।
प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुखको मतभार हेर्दा सत्ता गठबन्धन सात वटै प्रदेशमा अगाडि देखिएको छ ।
प्रदेश १ मा एमालेभन्दा सत्ता गठबन्धन १४४ मतभारले मात्रै अगाडि छ । एमाले नेताहरुले पनि अन्य प्रदेशमा हार्ने निश्चित भए पनि प्रदेश १ मा भने जित्न सकिने सम्भावना रहेको भन्दै प्रयास जारी राखेका छन् ।
प्रदेश १ मा प्रदेशसभा सदस्य ९३ जना (हाल ९२) र स्थानीय पालिका प्रमुख/उपप्रमुख २७४ (हाल २७२) गरी ३६४ मतदाता छन् । ३ सय ६७ मतदातामध्ये तीन सदस्य रिक्त छ । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ हुन्छ ।