आज संविधान संशोधन विधेयक संसदमा पेश हुने

काठमाडौं । सरकारले आज संसदमा संविधान संशोधन विधेयक पेश गर्ने भएको छ । कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले संविधान संशोधन विधेयक पेश गर्ने संसदको सम्भावित कार्यसूचीमा समावेश गरिएको छ । यसअघि १५ जेठको बैठकमा यो कार्यक्रम राखिएपनि अन्तिम समयमा आएर फिर्ता भएको थियो । सरकारले नेपालको नक्सा अध्यावधिक गरेसँगै यसलाई वैधानिकता दिन संविधान संशोधन हुनुपर्छ ।

नेपालका सबै दलले संविधान संशोधनको पक्षमा मतदान गर्ने तयारी गरेका छन् । निशान छापमा नेपालको अध्यावधिक नक्सा राख्न संविधान संशोधन गर्नै पर्छ । संसद सचिवालयका अनुसार सरकारले जेठ ९ गतेमा दर्ता गरेको संशोधन विधेयक आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रस्तुत हुने गरी सभामुख अग्नि सापकोटाले संभावित कार्यसूची राख्न अनुमति दिएका छन् ।

कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेले आइतबार बिहान ११ बजे बस्ने बैठकमा लिम्पियाधुरासहितको नेपालको नक्सा संविधानको अनुसूची–३ मा समावेश गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ । संविधानको अनुसूचीमा फरक नक्सा पर्न गएकाले सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा राख्ने प्रस्तावसहित विधेयक ल्याएको हो ।