आज सर्वदलीय बैठक बस्दै, जनसरोकारका विषय उठाउने कांग्रेसको तयारी

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक बस्दैछ । दिउँसो ११ बजे बोलाइएको बैठकमा सरकारका एजेण्डा भने सार्वजनिक गरिएको छैन । आज सरकारले सगरमाथाको नयाँ उचाई घोषणा गर्दैछ । त्यसको औपचारिक जानकारी सबै दललाई प्रधानमन्त्रीले दिने बताइएको छ । यता, विपक्षी नेपाली कांग्रेसले भने सर्वदलीय बैठकमा जनसरोकारका विषय उठाउने तयारी गरेको छ ।

प्रधानमन्त्रीले बैठकका लागि डाकेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वदलीय बैठकका लागि कांग्रेसका तर्फबाट एजेन्डा तयार गर्न सोमबार शीर्ष नेताहरूको बैठक बोलाएका थिए । उक्त बैठकले कोरोना रोकथाम र नियन्त्रणमा सरकार असफल भएको, भ्रष्टाचार बढेको, सरकारका गतिविधिका कारण नागरिकमा निराशा छाएको विषयलाई प्राथमिकताका साथ उठाउने भएको छ ।

राजतन्त्रको पक्षमा सडकमा प्रदर्शन बढेको विषयमा समेत सरकारको ध्यानाकर्षण गराउने तयारी कांग्रेसको छ । पार्टीभित्र तिब्र विवादको सामना गरिरहेका प्रधानमन्त्रीले संसद् अधिवेशनसमेत बोलाउन सकेका छैनन् । यसअवस्थामा उनले बोलाएको सर्वदलीय बैठकलाई चासोका साथ हेरिएको छ ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरु सहभागी हुनेछन् । बैठकमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले उल्लेख गरेको छ ।
प्रधानमन्त्री ओलीले यसअघि गएको जेठमा भारतले लिपुलेक, कालापानीमा नेपाली भूभाग अतिक्रमण गरी सडक बनाएपछि छलफल गर्न सर्वदलीय बैठक बोलाएका थिए ।