काठमाडौं । आज नेपालसहित विश्वभर हरितालिका तीज मनाइदैछ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व महादेवको पूजा आराधना गरी मनाउने गरिन्छ । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ । तर, आज शिवालयमा भेला भई दर्शन गर्न र नाचगान गर्न भने पाइदैन ।
कोरोना भाइरसको संक्रमणका कारण आज पशुपतिनाथसहित देशभरका शिवालय बन्द रहनेछन् । सरकारले घरमै बसि चाड मनाउन सर्वसाधारणलाई आह्वान गरेको छ । शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन रहेको छ ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ । सोहीकारण आज अविवाहितले महादेव जस्तै पति पाउन र विवाहितले पतिको लामो आयुको कामना गर्दै व्रत बस्ने गरेको पाइन्छ ।
व्रत बस्नेले अघिल्लो दिन मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने प्रचलन रहेको छ ।