काठमाडौं । हिन्दु धर्मावलम्बीका लागि भगवान विण्णुको उपासना गर्ने दिन आज देशभर हरिबोधनी एकादशी मनाइदैछ । कार्तिक शुक्ल एकादशीका दिन घरघरमा हुर्किएको तुलसीको पूजा जरी हरिबोधनी एकादशी पर्व मनाइन्छ ।
यस दिन तुलसीसँग भगवान् दामोदर (विष्णु)को विवाह हुने मान्यता रहको छ । आषाढ शुक्ल एकादशी (हरिशयनी एकादशी)का दिनमा सागरमा सुतेका विष्णु भगवान आजैका दिन ब्युँझने किंवदन्तीसमेत रहेको छ ।
यस दिन तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्था रहेको छ । सोही कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउने गर्छन् ।
तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि पनि औषधि गुणले युक्त हुन्छ । यस दिन भक्तजन उपवास बसी साँझ फलफूल खाने गर्छन् । अन्न नखानेहरुले सखरखण्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार खाने प्रचलन रहेको छ ।