आज १ सय ७ औं विपी जन्मजयन्ती

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको आज १०७ औँ जन्म जयन्ती मनाइदै छ । उनको विचारधारामा आस्था राख्नेहरुले विभिन्न कार्यक्रम आयोजना गरी यो दिनको सम्झना गर्छन् । यद्दपी यो वर्ष औपचारिक कार्यक्रमहरु भने आयोजना हुने छैनन् । नेपाली कांग्रेसले वीपीको जन्म जयन्ती ३ दिने भर्चुअल कार्यक्रम गरी मनाउने बताएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कोरोना प्रतिकूलताबाट सुरक्षित रहँदै वीपीको जन्म जयन्ती मनाउन सबैमा आग्रह गरिएको छ । केन्द्रिय तहबाट हुने ३ दिने भर्चुअल कार्यक्रमअन्तर्गत बिहीबार दिउँसो १ बजे ‘वीपीको विचार नेपालको समुन्नतिको मुल बाटो’ शीर्षकमा मूख्य कार्यक्रम आयोजना हुँदैछ ।

यसमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत शीर्ष नेताले सम्बोधन गर्नेछन् । नेपालमा प्रजातन्त्रको स्थापनाको मूख्य श्रेय कोइरालालाई जान्छ । उनी पार्टी र बिचारधाराभन्दा धेरै मानिसका लागि उच्चस्तरीय नेता हुन् ।

साहित्यमा समेत उत्तिकै योगदान गरेको विपी कोइरालाको विचारधारा नै अहिले नेपाली कांग्रेसको समेत मुल मन्त्र रहेको छ । तर, नेताहरुका पछिल्लो गतिविधिले विपीको आदर्शमाथि नै कुल्चिरहेको अनुभुती हुने गर्छ । कोइरालाको जन्म विक्रम संवत् १९७१ भदौ २४ मा भएको हो ।