काठमाडौं\एजेन्सी । नाइजिरियाको आतंकवादी समूह बोको हरामका नेता अबुबकार सेकाउ मारिएको खबर सार्वजनिक भएको छ । उनले आफ्नो ज्यान आफैँ लिएको एउटा विपक्षी लडाकू समूहले एउटा अडिओ रेकर्डिङमार्फत दावि गरेको छ । बीबीसीका अनुसार समाचार संस्थाहरूले प्राप्त गरेको उक्त अडिओ रेकर्डिङमा दुईवटा समूहबीचको लडाइँपछि सेकाउले आफैँलाई विस्फोटन गराएको हुन् ।
यस्तो दावि इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आइएसडब्लुएपी)ले गरेको हो । त्यसो त सेकाउबारे पटक पटक यस्ता खबर आउने गरेका छन् । अघिल्लो महिना मात्रै उनी मारिएको खबर आएको थियो । बोको हराम वा नाइजिरियाको सरकार कसैले पनि उनको मृत्युको आधिकारिक पुष्टि भने गरिसकेको छैन । मिति उल्लेख नगरिएको अडिओ रेकर्डिङमा आइएसडब्लूएपीका नेता अबु मुसाब अल बरनावीले सेकाउले ‘आफैँलाई विस्फोटन गराएर आफ्नो ज्यान लिएको’ बताएका छन्।
अघिल्लो महिना भएको भिडन्तमा सेकाउको मृत्यु भएको खबरहरू आएपछि नाइजिरीयाली सेनाले आफूले उक्त विषयमा अनुसन्धान गर्ने प्रतिक्रिया दिएको छ । उत्तर पूर्वी नाइजिरियाको साम्बिसास्थित जंगलमा रहेका बोको हरामका अखडामा भएको हमलामा उनी मारिएको बताइएको छ ।
सन् २००९ मा बोको हरामका संस्थापक आफ्ना पिता मोहमद युसुफलाई सुरक्षाकमीले मारेपछि उनी नेतृत्वमा आएक हुन् । उनको नेतृत्वमा उत्तर पूर्वी नाइजिरियामा जारी द्वन्द्वमा ४० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । २० लाखभन्दा बढी विस्थापित छन्।