काठमाडौं । आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा सरकारले छानबिन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यले उठाएका विषय निकै गम्भीर रहेको भन्दै छानबिन गर्ने निर्णय गरेको हो । बैठकले छानबिनको जिम्मा गृह मन्त्रालयलाई दिएको छ । जतिसक्यो चाँडो प्रतिवेदन तयार पारेर बुझाउनेगरी गृह मन्त्रालयलाई छानबिनको जिम्मेवारी तोकिएको हो ।
मंगलबार इलामका ३७ वर्षिय आचार्यले नयाँ बानेश्वरको संसद् भवन बाहिर आफैँलाई आगो लगाएका थिए । उनको उपचारका क्रममा आज बिहान कीर्तिपुर अस्पतालमा ज्यान गएको छ । आफूले उद्यम गर्ने सिलसिलामा बैंक, वित्तीय संस्था, विभिन्न सुपर मार्केट, व्यापारिक घराना, सरकारी कार्यालय लगायतबाट ठगिएको उनले फेसबुकमा लेखेका छन् ।