आनन्दका दश मुक्तक

मुक्तक १
अँध्यारोमा हिड्नुपर्दा बाटो नाप्ने कति-कति !
सित्थै बाँड्ने भेटिएमा दुई हात थाप्ने कति-कति !
जुन स्वार्थले आगो बल्छ दोबाटो या चौबाटोमा
थरी- थरी घ्यू हालेर आगो ताप्ने कति-कति !

मुक्तक २
आजकल बिना दलका मान्छे बन्न मुस्किल मुस्किल छ
अझ बढी चामलबाट भुस निफन्न मुस्किल मुस्किल छ
चुच्चे नक्सा छाप्नेबाटै उक्त नक्सा मेटिएपछि भने
अब जस कसैलाई राष्ट्रवादी भन्न मुस्किल मुस्किल छ।

मुक्तक ३
व्यापारी नै सबै दलको शिकार भएपछि
भ्रष्टकै झन् ठूलाठूला निधार भएपछि
के सप्रन्थ्यो खेतीपाती सुख्खा जमीनमाथि
सेवा हुने राजनीति नै व्यापार भएपछि।

मुक्तक ४
हिजोभन्दा अझ बढी खुल्दै आए हुन्छ
बगैँचाको गुलाफ जस्तै फुल्दै आए हुन्छ
दिनमा भन्दा रातमा भेट्न मजा लाग्छ भने
बाटो भुले जस्तै गरी डुल्दै आए हुन्छ।

मुक्तक ५
मान्छे न हो, सानै कुराले पनि मन फाट्न सक्छ
न कसैले कसैसँग आफ्नो जीवन साट्न सक्छ
फ्यॉकिएको भनी हेला नगरिबक्स्योस् ए हजुर !
पऱ्यो भने भुत्ते खुकुरीले पनि त गर्दन काट्न सक्छ।

मुक्तक ६
सुख जो सबैको साथ हुँदैन
धर्तीमा सधैं नै रात हुँदैन
मात्तिए मान्छे सच्चिए हुन्छ
दु:खले नछुने जात हुँदैन।

मुक्तक ७
देवता सम्झनुपर्छ, भगवान सम्झनुपर्छ
भगवानले दिईरहेको वरदान सम्झनुपर्छ
मायामा डुब्ने मन त नभएको कहॉ हो र !
माता पिता भएपछि सन्तान सम्झनुपर्छ।

मुक्तक ८
मर्ने अनेकौं बहाना हुन सक्छन्, जिउने अनेक बहाना हुन सक्छन्
बिरूद्धमा कसै कसैको पूरापूर यो संसार, यो जमाना हुन सक्छन्
यौटै धर्तीमा कतै रात परिरहँदा कतै दिनको उज्यालो हुन्छ भने
बस्, जीवन नबुझ्नेले खोज्नुपर्छ, रमाउने अनेकौं ठेगाना हुन सक्छन्।

मुक्तक ९
देशभित्रै रही भ्रष्ट बन्दै नबन्ने सोंच कस कसमा बदलियो ?
बदलियो, कुष्ट कमाऊ र राजनीति गर भन्ने सोंच हर जसमा बदलियो
आमूल परिवर्तनको आशमा रहेका जनता के भन्छन् भने
बदलियो त कुर्सीमा बसेपछि, मात्र ऑखा अघिको चस्मा बदलियो।

मुक्तक १०
तिम्लाई मुटु दिएर त बॉचिरहेछु अहिलेसम्म
तिमीलाई सम्झिएर त बॉचिरहेछु अहिलेसम्म
अन्तिम भेटमा पानी पानी बनाएर गएदेखि
पानी मात्र पिएर त बॉचिरहेछु अहिलेसम्म।

आनन्द श्रेष्ठ
काठमाण्डौं, सामाखुशी-२६
हाल : न्यूयोर्क