काठमाडौं । नेपालमा कोरोनाबाट बच्न सचेतना तीब्र पारिएको छ । शुक्रबारबाट आन्तरिक विमानस्थल र जहाजमा समेत कोरोनाको जाँच प्रारम्भ गरिएको छ ।
बुद्ध एयरले चेकइन काउन्टरबाट ज्वरो नाप गरी १ सय फरेनहाइडभन्दा बढी तापक्रम भएका यात्रुलाई काउन्टरबाटै घर फर्काउन शुरु गरेको छ ।
त्यसो त तराईका विमानस्थलमा हेल्थ डेस्कसमेत संचालनमा आएको पर्यटन सचिव केदारबहादुर अधिकारीले जानकारी दिएका छन् ।
विमानस्थलमा ज्वरो नाप्ने उपकरणले यात्रुको ज्वरो नाप्ने र बिरामी भए सोही विमानस्थलबाट सिधै अस्पताल पठाइने भएको छ ।
विमान भित्र थप यात्रुको स्वास्थ्यलाई ध्यानमा राख्दै वायुसेवा कम्पनीहरुले स्वास्थ चेकजाँच कडा गर्न लागेका हुन् ।
बुद्ध एयरका अनुसार शुक्रबारबाट सबै यात्रुको ज्वरो नाप गर्न थालिएको छ ।
विमान चढ्न जानुअघि ‘चेक इन काउन्टर’मा कर्मचारीले सबै यात्रुको ज्वरो नाप्ने र १ सय फरेनहाइट तथा त्यो भन्दा माथिको ज्वरो देखिने सबै यात्रुलाई घर पठाउन थालेका छन् । बुद्धले काठमाडौंबाट उड्नु अघि र अन्य गन्तब्यबाट काठमाडौं उड्नुअघि विमानस्थलमै ज्वरो नाप्न थालेको बताएको छ ।
सिम्रिक एयरले समेत अब ज्वरो नापेर मात्र यात्रुलाई चढाउने भएको छ । कम्पनीहरुले ज्वरो आएमा हवाई यात्रा नगर्न र त्यसको साटो टिकट रद्द गरी पैसा फिर्ता लैजान आहृवान गरेका छन् ।