आफुले कसैमाथि हातपात नगरेको पर्यटन मन्त्री आलेको स्पष्टीकरण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात नगरेको दावि गरेका छन् । शुक्रबार भाइरस अडियो र समाचारको खण्डन गर्दै उनले कुनै पनि कर्मचारीमाथि दुर्व्यवहार नगरेको बताएका हुन् । उनले विभिन्न सञ्चारमाध्यममा कार्यकारी अध्यक्षमाथि हातपात गरेको भनी आफूलाई जोडेर आएका समाचारप्रति आफ्नोे गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । उनले मन्त्रालय र सिंहदरबार परिसरमा रहेका सीसीटिभी क्यामेरा हेर्न समेत भनेका छन् ।

आवश्यक परे मन्त्रालय र प्रशासनले सीसीटिभीका फुटेज उपलब्ध गराउन सक्नेछ । कतिपय कामहरूमा निर्देशन दिनुपर्ने, सचेत गराउनुपर्ने, सम्झाउनुपर्ने हुनसक्ने र मन्त्रालयलको नेतृत्वकर्ताको हैसियतले त्यो क्रम निरन्तर पनि रहने भन्दै मन्त्री आलेले कर्मचारीमाथि भने दुर्व्यवहार नभएको उल्लेख गरेका छन् ।

पछिल्ला दिनमा उडान सङ्ख्या वृद्धि हुँदै गएको तर जापानलगायतका गन्तव्यमा सर्वसाधारण, विद्यार्थी, भारतमा उपचारमा जाने बिरामीलगायतले टिकट सहजै नपाउने, निगमकै कारण बजारमा कृत्रिम अभाव गराइ आफू निकट एजेन्सीबाट मात्रै टिकट बिक्री गर्ने गरेको भन्नेजस्ता गुनासो अत्यधिक आएपछि पालिका चुनावअघि नै कार्यकारी अध्यक्षलाई स्पष्टीकरण सोधिएको र त्यसपछि पनि सचेत गराउने काम भने जारी नै रहेको उनको भनाई छ । आफ्नाविरुद्ध निरन्तर प्रचारमा लागेका केही व्यक्तिहरूले आफूलाई बदनाम गर्नका लागि समाचार लेखाएको समेत उनको आरोप छ ।