वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध महाभियोगमा साक्षी बस्ने दुई अधिकारीलाइ बर्खास्त गरेका छन् ।
संसदको माथिल्लो सदनमा पेस भएको महाभियोगबाट सफाइ पाएपछि उनले आर्मीका लेफ्टिनेन्ट जर्नेल अलेक्जेन्डर भिडम्यान र युरोपियन युनियनका लागि अमेरिकी राजदूत गार्डन सोडल्यान्डलाई बर्खास्तको निर्णय गरेका हुन् ।
ह्वाइटहाउसका अनुसार यी दुबै अधिकारीले अब सरकारको जिम्मेवारी प्राप्त गर्ने छैनन् ।
राष्ट्रपति पदको दुरुपयोग गर्दै आफ्ना प्रतिस्पर्धीलाई समाप्त पार्न युक्रेनी समकक्षीलाई दबाव दिएको अभियोगमा ट्रम्पविरुद्ध तल्लो सदनमा महाभियोग दर्ता गरिएको थियो ।
यस प्रकरणमा अमेरिकी तल्लो सदनले दुवै अधिकारीसँग वयान लिएको थियो । बयानमा उनीहरु साक्षी बसेका थिए ।
तल्लो सदनमा विपक्षीको बहुमत छ । सोही सदनले ट्रम्पविरुद्ध महाभियोग लगाएको थियो ।
तर, रिपब्लिकनको बहुमत रहेको माथिल्लो सदन सिनेटबाट ट्रम्पले सफाइ पाए । ट्रम्पले आफ्ना विपक्षीलाई यसअघि पनि पटक पटक किकआउट गरेका उदाहरण छन् ।