काठमाडौं । रुसी आक्रमणपछि युक्रेनमा अलपत्र परेका आफ्ना सयौँ नागरिकको उद्धारका लागि भारतले एक विमान पठाएको छ। बीबीसीका अनुसार एअर इन्डियाको विमान शनिवार रोमेनीयाको राजधानी बुखारेस्टमा अवतरण गरेको छ। युक्रेनबाट सीमा नाघेर सयौँ मानिस त्यहाँ पुगेको बताइन्छ। युक्रेनको हवाई क्षेत्र बन्द गरिएका बेला दिल्लीले आफ्ना नागरिकलाई बुखारेस्ट र बुडापेस्टबाट उद्धार गर्ने योजना बनाएको छ।
युक्रेनमा लगभग २० हजार भारतीयहरू छन् जसमध्ये अधिकांश विद्यार्थी छन्। उनीहरूमध्ये धेरै जनाले सामाजिक सञ्जालबाट युक्रेन छाड्न आफूहरूलाई सहयोग गर्न अपील गरिरहेका छन्। उता, नेपाली नागरिकको उद्धारमा भने अन्यौल कायम छ । त्यसो त युक्रेनमा नेपाली नागरिकमा कुनै समस्या परेमा सम्पर्क गर्न रुस र जर्मनस्थित नेपाली दुतावासले आग्रह गरेका छन् ।