आफ्नै आँखाअगाडि सहिदका सपना कुल्चिएको टुलुटुलु हेर्न सक्दिनँ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले हजारौं सहिदका बलिदानीबाट प्राप्त गणतन्त्रमाथि खेलवाडसँगै सहिदका सपना कुल्चिने प्रयास गरिरहेको बताएका छन् ।

फागुन १ गते ‘जनयुद्ध दिवस’ को अवसरमा पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित सहिद स्मृति सम्मान कार्यक्रममा सम्बाेधन गर्दै ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले हजारौं सहिदका बलिदानीबाट प्राप्त गणतन्त्रमाथि खेलवाडसँगै सहिदका सपना कुल्चिने प्रयास गरिरहेको बताएका हुन् ।

साथै, प्रधामन्त्री ओलीले चालेको कदमविरुद्ध आफू मर्नबाट नडराउने उनले बताए । उनले भने, ‘सहिदहरुले बलिदान गरेर प्राप्त गरेका उपलब्धी हामी गुम्न दिने छैनौं । जरुरी पर्छ भने फेरि बलिदान दिन तयार छौँ ।’

सात दशक लामो हजारौं सहिदहरुको संघर्षबाट प्राप्त भएको गणतन्त्र उपलब्धी खतरामा पर्न लागेको भन्दै अब सबै नेपालीहरु एकजुट भएर फेरि एकचोटी संघर्षको मैदानमा उत्रिनुपर्ने बेला आएको पनि उनले बताए । ‘आफ्नै आँखाअगाडि सहिदका सपना कुल्चिएको टुलुटुलु हेर्न सक्दिनँ । जरुरी पर्छ भने फेरि बलिदान दिन तयार छौँ,’ जनयुद्धकालीन पलहरु सम्झिँदै नेकपा अध्यक्ष प्रचण्डले भने, ।