काठमाडौं । प्रतिनिधिसभामा सोमबारबाट आगामी आर्थिक वर्ष २०७९–०८० को बजेटमा मन्त्रालयगत छलफल सुरु हुँदैछ । बजेटबारेको सैद्धान्तिक छलफल भएपछि मन्त्रालयगत छलफल हुने लागेको हो । संसद् सचिवालयका अनुसार आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, शहरी विकाससँगै भूमि, व्यवस्था र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेठमाथि छलफल हुने कार्यसूची छ ।
सचिवालयले मन्त्रालयगत छलफलपछि विभागीय मन्त्रीहरूलाई जवाफ दिन दुई दिनको समय उपलब्ध गराउने भएको छ । जवाफ दिने दिन यही २६ र २७ जेठ तोकिएको छ । मन्त्रीहरूको जवाफपछि बजेट पारित गर्ने प्रावधान रहेको छ । तर, यो बजेटमा एकीकृत समाजवादीको तर्फबाट मन्त्री बनेकाहरुले जवाफ दिन नपाउने भएका छन् । पार्टीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउन लागेको छ । सम्भवतः सोमबार नै नयाँ मन्त्रीहरुले सपथ लिने छन् ।