काठमाडौं । सरकारले क्याफिनयुक्त इनर्जी ड्रिंक आयात बन्द गरेको छ ।
निकासी तथा पैठारी गर्न सकिने सूचीमा परिमार्जन गर्दै सरकारले क्याफिनयुक्त शक्तिबर्द्धक पेय, फ्लेभर्ड सिन्थेटिक पेय (जुस) र यस्तै प्रकारका अन्य पेयको आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
नापतौल तथा गुणस्तर विभागबाट आयात प्रतिवन्ध लाग्ने गरी निर्णय भएका पेयको अन्तिम निर्णय अथवा प्रमाणिकरण हुने प्रावधान रहेको छ । प्रतिवन्धित पेय पदार्थ भन्सारबाटै फिर्ता हुने बताएको छ ।
सरकारले जुस आयातमा पनि कडाई गरेको छ । कुनै विशेष फलको रस भनेर आउने जुसमा निर्धारण गरिएको रस बाहेक अरु मिसाउट भए आयात प्रतिबन्ध हुनेछ ।
पछिल्लो समय लिचि, आपजस्ता फ्लेवरमा चिनि सिमावट भएका पेय पदार्थहरु नेपालमा अधिक मात्रामा भित्रिरहेका छन् ।
सरकारले स्वदेशमै उत्पादन हुने वस्तुको आयातमा क्रमशः कडाई गरी आयात प्रतिस्थापनको नीति लिएको छ । सोही अनुसार अनुत्पादक क्षेत्रमा नेपाली पैसा बाहिर नआजोस भनी यो निर्णय लिनु परेको सरकारको भनाई छ ।
अब विदेशबाट नेपाल आउने सामानको उपभोग्य मिति कम्तिमा ७५ प्रतिशत हुनुपर्ने प्रावधानसमेत ल्याइएको छ । यसअघि उत्पादन र उपभोगको अन्तिम मिति खुलाए आयात गर्न पाउने व्यवस्था थियो ।
सरकारले नेपाल भित्र ३० माइक्रोनभन्दा कम मोटाइका प्लाष्टिकका झोला तथा शीटको आयात पनि रोकेको छ ।