सञ्जय पौडेल
काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय व्यापार आयातमा केन्द्रित छ । समग्र अन्तर्राष्ट्रिय व्यापारमा ८८ प्रतिशत आयात र १२ प्रतिशत मात्रै निर्यात हुन्छ । तर, निर्यात पनि आयातमा केन्द्रित सामानको हिस्सा निकै ठूलो छ । चालु आर्थिक वर्षमा निर्यात भएको १ खर्ब २७ अर्बको सामानमा ५० प्रतिशतभन्दा बढी निर्यात आयातमा केन्द्रित हो । अहिलेको निर्यातमा सबैभन्दा ठूलो हिस्सा वनस्पति तेलको छ । यस्तो तेल नेपाली उत्पादन होइन । तेस्रो मुलुकबाट आयात गरिन्छ र सामान्य प्रशोधनपछि भारत पठाइन्छ ।
१ खर्ब २७ अर्बको निर्यात हुनेमा ३९ अर्ब अर्थात् ३० प्रतिशत हिस्सा भटमास र सूर्यमुखी तेलको मात्रै छ । खाने तेल आयातमा पनि उच्च आयात हुने वस्तुमा पर्छन् । यो वर्ष भटमास र सूर्यमुखीको कच्चा तेल ५५ अर्ब रूपैयाँ बराबरको आयात भएको छ । भटमासको कच्चा तेल अर्जेन्टिना, ब्राजिल, इन्डोनेसिया, इराक, थाइल्यान्ड, युक्रेन लगायतका देशबाट किनिएको छ । रिफाइन गरिएको उपभोग्य तेल भने भारतमा बेचिएको छ ।
सूर्यमुखीको कच्चा तेल चीन, मलेसिया, स्पेन, भियतनाम, युक्रेन लगायतका देशबाट किनिन्छ । रिफाइन गरिएको उपभोग्य तेल भने भारतमा बेचिन्छ । विगतका वर्षहरूमा यसैगरी पाम तेलको पनि आयात निर्यात हुने गरेको थियो । यो वर्ष भने पामको निर्यात खस्किएको छ । भटमास र सूर्यमुखी तेलको केही मात्रा नेपालमा उत्पादन भए पनि पाम भने नेपालमा उत्पादन नै हुँदैन ।
आयात गरिएको वस्तुलाई ३० प्रतिशतसम्म मूल्य अभिवृद्धि गरी भन्सार संकेत (एचएस कोर्ड) अर्को हुने गरी निर्यात गर्न सकिने व्यवस्था गरिएको छ । व्यापारीहरुले यही नियमको पालना गरेर यस्ता सामानको आयात निर्यात गर्ने गरेको बताएका छन् । नेपालमा २५ वटा खाने तेल उद्योगहरु सञ्चालन छन् । यी उद्योगले तेस्रो मुलुकबाट कच्चा तेल आयात गरेर भारतमा निर्यात गर्ने गरेका छन् ।
नेपालकै कच्चा पदार्थमा आधारिक वस्तुहरु भने निकै कम मात्रामा विदेशी बजारमा पुग्छन् ।

नेपालले गर्ने समग्र व्यापारमा छिमेकी देशहरु भारत र चीन क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा अर्जेन्टिना छ भने चौथो स्थानमा अमेरिका रहेको छ । नेपाल वस्तुको बिक्री गर्नका लागि भने भारतपछिको दोस्रो बजार अमेरिका देखिएको छ । चालु आर्थिक वर्षको सात महिनाको निर्यातमा ९८ अर्ब रूपैयाँ बराबरको निर्यात भारतमा भएको छ । त्यसपछिको ठूलो निर्यात भने अमेरिकामा छ । अमेरिकामा १० अर्ब २ करोड रूपैयाँ बराबरको निर्यात भएको छ ।
अमेरिका दोस्रो बजार
‘एक खर्ब २७ अर्बको निर्यातमा १० खर्ब रूपैयाँ सामान्य नै मानिए पनि नेपाली वस्तुका लागि भने अमेरिकी बजार निकै महत्वपूर्ण छ । नेपाली वस्तुका लागि मात्रै हेर्ने हो भने भारत, अमेरिका उस्ता–उस्तै नै रहन्छन्,’ व्यापारविज्ञ पुरूषोत्तम ओझाले भने– ‘लामो समयदेखि नेपाली सामानको दोस्रो बजार अमेरिका नै छ ।’ चालु वर्षको समग्र निर्यातमा अमेरिकाको हिस्सा करिब ८ प्रतिशतको छ । गत आर्थिक वर्षमा पनि अमेरिका निर्यात व्यापारमा दोस्रो स्थानमा थियो भने समग्र निर्यात व्यापारको हिस्सा ११ प्रतिशतको रहेको थियो । गत आर्थिक वर्षमा १ खर्ब ५२ अर्ब रूपैयाँको निर्यात भएकोमा अमेरिकामा मात्रै १७ अर्ब रूपैयाँ बराबरको निर्यात भएको छ ।
विभिन्न सामानहरुमा दिएको फ्री भन्सार सुविधाका कारण पनि नेपाली वस्तु अमेरिका पु¥याउन सहज भएको छ । गत आर्थिक वर्षमा ६ अर्ब ३८ करोड रूपैयाँ बराबरको जनावरको रौं र ऊनबाट बनेका कपडाको निर्यात भएको छ । नेपाली वस्तुको यो सामानमा अमेरिकामा भन्सार फ्री छ । तर, अमेरिकाबाट यस्तो सामान आयात गर्दा भने ३० प्रतिशत भन्सार रहेको छ । त्यस्तै २ अर्ब ७६ करोड रूपैयाँ बराबरको प्याक गरिएको कुकुर बिरालोको खाना अमेरिका निर्यात गरिएको छ । यो सामानमा पनि अमेरिकामा फ्री भन्सार छ । तर, नेपाल आयात गर्दा भने १० प्रतिशत भन्सार महसुल छ ।
अमेरिका निर्यात भएका यस्ता धेरै सामानहरुमा भन्सार छुटको सुविधा छ । तर, हालसालै अमेरिकी राष्ट्रपतिले रेसिप्रोकल भन्सार नीति लागू गर्ने जनाउ दिएका छन् । यो भनेको व्यापार गर्ने देशले अमेरिकाबाट सामान पठाउँदा जति भन्सार लिन्छ, सोही आधारमा भन्सार लिने भनेको हो । यस्तो अवस्थामा भने अमेरिकी बजार गुम्न सक्ने सम्भावना हुन्छन् ।
कस्ता वस्तुको आयात हुन्छ नेपालमा
चालु वर्षको सात महिनाको अविधमा ९ खर्ब ८८ अर्ब रूपैयाँ बराबरको वस्तु आयात भएको छ । आयात व्यापारमा सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थको रहेको छ । यो अवधिमा नेपालले ६६ अर्ब ४८ करोड रुपैयाँको डिजेल मात्र आयात गरेको छ । त्यस्तै, पेट्रोल ३७ अर्ब ६४ करोड र एलपी ग्यास ३५ अर्ब ४७ करोड रुपैयाँको आयात गरेको छ ।
सोही अवधिमा भटमासको कच्चा तेल ३८ अर्ब २९ करोड रुपैयाँको आयात गरेको छ । यसैगरी, शुद्ध फलाम २९ अर्ब ९५ करोड, तयारी कपडा २५ अर्ब २४ करोड, एचआर सिट २४ अर्ब २४ करोड, मोबाइल टेलिफोन २० अर्ब २० करोड, एलोपेथिक औषधी १८ अर्ब १६ करोड र सूर्यमुखीको कच्चा तेल १७ अर्ब १४ करोड रुपैयाँबराबर आयात भएको छ ।
कुन वस्तुको कति निर्यात
चालु वर्षको सात महिनाको अवधिमा १ खर्ब २७ अर्ब रूपैयाँको वस्तु नेपालले निर्यात गरेको छ । सबैभन्दा धेरै योगदान भने वनस्पति तेलको रहेको छ । प्रशोधन गरिएको भटमासको तेल ३२ अर्ब ४१ करोड रुपैयाँको निर्यात भएको छ । त्यस्तै, निर्यात गरिएका अन्य वस्तुहरुमा क्रमशः सेन्थेटिक यार्न ८ अर्ब १० करोड, सूर्यमुखी तेल (प्रशोधित) ६ अर्ब ५७ करोड, ऊनी गलैंचा कार्पेट ६ अर्ब ४६ करोड, अलैंची ५ अर्ब ३९ करोड, प्लाइउड ५ अर्ब ५ करोड, तयारी कपडा ४ अर्ब ९३ करोड, फलामे पाता ४ अर्ब ८९ करोड, फलफूलको जुस ३ अर्ब ९६ करोड र चिया ३ अर्ब ४० करोड रुपैयाँको रहेका छन् ।
विद्युतीय गाडीको आयात उच्च
नेपालमा विद्युतीय गाडीको बढ्दो प्रयोगले हालैका वर्षहरुमा ठूलो मात्रामा गति लिएको छ । यसले नेपालको यातायात क्षेत्रमा एक महत्वपूर्ण परिवर्तन ल्याएको छ र पेट्रोलियम पदार्थको आयातमा केही मात्रामा कमी आएको छ । तथापि, यो प्रवृत्ति अझै प्रारम्भिक अवस्थामा छ र यसको प्रभाव पूर्णरुपमा देख्न अझै समय लाग्न सक्छ । यहाँ नेपालमा विद्युतीय गाडीको प्रयोगको अवस्था, यसको प्रभाव, र भविष्यका सम्भावनाहरुसम्बन्धी गहन अध्ययन, अनुसन्धान भने अझै हुन सकेको छैन ।
चिनियाँ, भारतीय र अमेरिकी कम्पनीका विद्युतीय गाडीको आयात उच्च छ । संसारभर उत्पादन भएका विद्युतीय गाडी नेपाली बजारमा पाउन सकिन्छ । संसारमै उदाहरणीयरुपमा नेपालमा पछिल्लो समय विद्युतीय गाडीको प्रयोग प्रतिशतका हिसाबले धेरै छ । नेपाल सरकारको तथ्यांकअनुसार नयाँ बिक्री हुने गाडीमध्ये झण्डै ७० प्रतिशत विद्युतीय गाडीले बजार लिएको छ । जसले गर्दा नेपालको अर्थतन्त्रमै नयाँ ढंगले सोचनीय बनाएको छ ।
नेपालमा विद्युतीय गाडीको बढ्दो प्रयोगको अवस्था हेर्दा सबैभन्दा धेरै कार बिक्री भएको पाइएको छ । त्यसपछि मोटरसाइकल तथा स्कुटर, सामाग्री ओसार पसार गर्ने मिनी ट्रकहरु, हाइस मोडेलका गाडी र ठूला ठूला बसहरु आयात भएको पाइएको छ । नेपालमा विद्युतीय गाडीको प्रयोग पछिल्ला ५ वर्षमा धेरै बढेको यातायात व्यवस्था विभागले जनाएको छ । यसको मुख्य कारणहरुमा सरकारको प्रोत्साहन, पेट्रोलियम पदार्थको मूल्यवृद्धि र वातावरणीय असुरक्षाले निम्ताएको चिन्ता समावेश छन् ।
विद्युतीय गाडीहरुले पेट्रोल र डिजेलमा निर्भरता कम गर्ने, वायु प्रदूषण घटाउने र देशको ऊर्जा सुरक्षा बढाउने सम्भावना राख्ने भएका कारणले नेपाल सरकारले विद्युतीय गाडीको प्रयोगका लागि प्रोत्साहन गर्दै आइरहेको छ । चालु आर्थिक वर्षको अहिलेसम्मको तथ्यांकलाई हेर्दा पेट्रोलियम पदार्थबाट चल्ने जीप, कार, भ्यान झण्डै ३ अर्ब ६० करोड रुपैयाँको आयात गरिएको छ । त्यही ७ महिनामा विद्युतीय जीप, भ्यान र कारको आयात १४ अर्ब १७ करोडको रहेको छ ।
चालू आर्थिक वर्ष २०८१\०८२ को ८ महिनामा नेपालमा १० हजारभन्दा धेरै गाडी आयात भएको छ । विद्युतीय, पेट्रोल र डिजेलबाट सञ्चालन हुने १० हजार २४ गाडी ८ महिनामा भित्रिएको नेपाल सरकारको तथ्यांकले देखाएको छ । चीनबाट ५ हजार २ सय ८५ र भारतबाट ४ हजार २ सय गाडी नेपाल भित्रिएका छन् । कार, जीप, भ्यानलगायतका गाडी नेपालमा आयात गरिएको छ । इण्डोनेसिया, जापान, कोरिया, अमेरिका र जर्मनीका ब्राण्डका गाडी पनि भित्रिने गरेका छन् ।
पछिल्लो ८ महिनामा भित्रिएका १० हजारभन्दा धेरै गाडीमध्ये ७ हजार ८९ विद्युतीय गाडी नेपाल भित्रिएका छन् । त्यसमध्ये ५ हजार २ सय ७८ विद्युतीय गाडी चीनबाट मात्र आयात गरिएको छ । बाँकी भारतलगायतका देशबाट आयात गरिएको छ । नेपाल भित्रिने बसको भर भारतमै पर्नुपर्ने अवस्था रहेको थियो । तर, अहिले चीनबाट ११ देखि २५ सिटसम्मका गाडी आयात गरिएको छ । त्यस्ता गाडी पछिल्लो ८ महिनामा १ हजार ३ सय ८१ रहेका छन् । यी सबै गाडी चीनबाट आयात भएको तथ्यांक छ ।
नेपालमा विद्युतीय गाडीहरुको बजार बिस्तार हुँदै गइरहेको छ । विशेषगरी काठमाडौं उपत्यकाजस्ता ठूला शहरहरुमा इलेक्ट्रिक कार, स्कूटर, र बसहरुको प्रयोग बढेको छ । विद्युतीय स्कूटर र इ–रिक्साहरुले सहरी यातायातमा ठूलो स्थान बनाएका छन् । यसका साथै, निजी क्षेत्रले पनि विद्युतीय गाडी आयात गर्ने र बिक्री गर्ने कार्यमा ठूलो भूमिका खेलिरहेको छ । नेपाल सरकारले विद्युतीय गाडी प्रवद्र्धनका लागि विभिन्न नीतिगत प्रोत्साहनहरु ल्याएको छ ।
उदाहरणका लागि, विद्युतीय गाडीहरुमा लाग्ने करमा छुट, चार्जिङ स्टेशन स्थापनाका लागि अनुदान र आयात शुल्कमा छुट दिइएको छ । यसले गाडी आयातकर्ता र उपभोक्ताहरुलाई आकर्षित गरेको छ । विद्युतीय गाडीको प्रयोग बढ्नुसँगै चार्जिङ इन्फ्रास्ट्रक्चरको विकास पनि बढ्दै गइरहेको छ । काठमाडौं, पोखरा, बुटवल, चितवन र अन्य प्रमुख शहरहरुमा चार्जिङ स्टेशनहरु स्थापना भएका छन् । तथापि, यो अझै अपर्याप्त छ र ग्रामीण क्षेत्रहरुमा चार्जिङ सुविधा अझै पुग्न सकेको छैन । जसले गर्दा अहिले पनि ग्रामीण क्षेत्रका मानिसले विद्युतीय गाडी किन्दा सोच्नुपर्ने अवस्था विद्यमान छ ।
पेट्रोलियम पदार्थको आयातमा कमी
नेपालले पेट्रोलियम पदार्थ धेरै ठूलो मात्रामा आयात गर्छ । अर्बौं रुपैयाँ पेट्रोलियम पदार्थको आयातमा खर्च हुने गरेको छ । यसले देशको व्यापार घाटा बढाउनुका साथै विदेशी मुद्राको भारी माग पनि सिर्जना गर्छ । विद्युतीय गाडीको बढ्दो प्रयोगले पेट्रोलियम पदार्थको आयातमा केही मात्रामा कमी ल्याएको छ । नेपालले प्रतिवर्ष करिब १ खर्ब रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात गर्छ । यो देशको कुल आयातको एक ठूलो हिस्सा हो । विद्युतीय गाडीले यस निर्भरता कम गर्ने सम्भावना राख्छ ।
विद्युतीय गाडीको प्रयोग बढेपछि पेट्रोलियम पदार्थको खपतमा केही मात्रामा कमी आएको छ । यसले आयात खर्च घटाउन मद्दत गरेको छ । तथापि, यो कमी अझै नगण्य छ किनभने विद्युतीय गाडीको प्रयोग अझै कम छ । विद्युतीय गाडीले नेपालको ऊर्जा सुरक्षा बढाउन मद्दत गर्छ । यसले विदेशी पेट्रोलियममा निर्भरता घटाउँदै आत्मनिर्भरता बढाउने सम्भावना राख्छ ।
विद्युतीय गाडीको बढावाका लागि र पेट्रोलियम पदार्थको आयातलाई निरूत्साहित गर्नका लागि चार्जिङ इन्फ्रास्ट्रक्चरको अभावलाई हटाउनुपर्छ । चार्जिङ स्टेशनहरुको अभावले विद्युतीय गाडीको प्रयोगलाई बढावा दिन सकिएको छैन । त्यसैले विद्युतीय गाडीको प्रारम्भिक लागत पेट्रोलियम गाडीको भन्दा बढी भएकाले सरकारले यसतर्फ ध्यान दिनुपर्छ । विद्युतीय गाडीको प्रयोगका लागि अझै पनि जनचेतनाको अभाव पाइन्छ ।
धेरै उपभोक्ताहरुलाई विद्युतीय गाडीको फाइदा र प्रयोग विधिसम्बन्धी जानकारी छैन । वातावरणीय फाइदा हुने र विद्युतीय गाडीले वायु प्रदूषण घटाउन मद्दत गर्ने, विद्युतीय गाडीको चलाउने लागत पेट्रोलियम गाडीभन्दा कम रहेको कुरा जानकारी तथा सरकारले विद्युतीय गाडी प्रवद्र्धनका लागि नीतिगत व्यवस्थाहरु खुकुलो बनाउँदा नेपालको आयात, निर्यातको बजारलाई नै फरक ढंगले लैजान सकिन्छ ।
नेपालमा विद्युतीय गाडीको प्रयोग बढ्दै गइरहेको छ र यसले पेट्रोलियम पदार्थको आयातमा केही मात्रामा कमी ल्याएको छ । तथापि, यो प्रवृत्ति अझै प्रारम्भिक अवस्थामा छ । चार्जिङ इन्फ्रास्ट्रक्चरको विकास, जनचेतना बढाउने र सरकारी नीतिहरु प्रभावकारी बनाउने गरी विद्युतीय गाडीको प्रयोगलाई अझ बढाउन सकिन्छ । यसले नेपालको ऊर्जा सुरक्षा बढाउनुका साथै वातावरणीय प्रदूषण घटाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ ।