आयात घट्दा व्यापार घाटा पनि कम

नेपालमा चालु आर्थिक वर्षको शूरुवातबाटै आयात खुम्चिएको छ । यसले व्यापार घाटामा समेत कमी ल्याएइको तथ्यांकले देखाएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म कुल वैदेशिक व्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख ४८ हजार रुपैयाँ छ । आर्थिक वर्ष २०७८–७९ को सोही अवधिको वैदेशिक व्यापार घाटा ७ खर्ब ३५ अर्ब ४८ करोड ७६ लाख ७० हजार थियो । यस वर्ष व्यापार घाटा १८.७७ प्रतिशतले घटेको छ ।

निर्यातमा समेत ३५ प्रतिशत गिरावट छ । आयात २० प्रतिशतले खुम्चिँदा व्यापार घाटा कम भएको हो । भन्सार विभागको तथ्यांकअनुसार चालु आवको मंसिर मसान्तसम्म ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख ५० हजार रुपैयाँको आयात भएको छ । गत आवको सोही अवधिमा ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख ४२ हजारको आयात भएको थियो ।

गत आर्थिक वर्षको पहिलो पाँच महिनामा १ खर्ब २ अर्ब ९२ करोड ५ लाख ७२ हजार रुपैयाँको निर्यात भएकोमा चालु आवको सोही अवधिमा ३४.६१ प्रतिशतले घटेर ६७ अर्ब ३० करोड ४५ लाख २ हजार रुपैयाँको निर्यात भएको छ । निर्यात र आयात दुबैमा संकुचन हुँदा व्यापार घाटासँगै कुल वैदेशिक व्यापार पनि घटेको छ । चालु आवको पहिलो पाँच महिनामा वैदेशिक व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.२३ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ ।

गत आवको मंसिर मसान्तसम्म ९ खर्ब ४१ अर्ब ३२ करोड ८८ लाख १४ हजार रुपैयाँ रहेको कुल वैदेशिक चालु आर्थिक वर्षको सोही अवधिमा ७ खर्ब ३२ अर्ब ५ करोड ९ लाख ५२ हजार रुपैयाँमा झरेको छ । मंसिर मसान्तसम्म भएको कुल आयातमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ छ । डिजेल, पेट्रोल, एलपी ग्यास लगायतको पेट्रोलियम पदार्थ १ खर्ब ३४ अर्ब ३६ करोड १० लाख १५ हजार रुपैयाँको आयात भएको भन्सार विभागको तथ्यांक छ ।