काठमाडौं । यो वर्ष आरोहण सिजनलाई सुरक्षित बनाउन सगरमाथा आधार शिविरमा डाक्टर राखिने भएको छ । आपतकालिन समयमा आरोही तथा सहयोगीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी स्वास्थ्य मन्त्रालयले काजमा डाक्टर खटाउने भएको छ । पर्यटन विभागका अनुसार सगरमाथाको आधार शिविर र नाम्चेदेखि आधार शिविरको बीचमा एक स्थानमा डाक्टर रहने छन् ।
उनीहरुले आरोहीलाई प्राथमिक उपचार गरी तत्काल उद्दारमा सहयोग गर्ने भएका छन् । जारी सिजनका लागि आरोहण अनुमति लिने क्रम शुरु भएको छ । नेपालका सबै जसो ८ हजार मिटर भन्दा अग्ला हिमालमा अनुमती जारी हुन सक्ने अनुमान विभागले गरेको छ । यसरी डाक्टर नै फिल्डमा खटाउन लागिएको पहिलो पटक हो ।
यो पटक कोरोना भाइरसको महामारीका बीच संसारभर मानिसहरुको आत्मविश्वास खस्किएको छ । आरोहणमा आत्मविश्वासको भूमिका निकै महत्वपूर्ण हुन्छ । विभागका अनुसार विगतमा आरोहणमा आरोहीको स्वास्थ्य अवस्थाबारे त्यति धेरै चासो राख्ने प्रचलन थिएन । यसपटक भने स्वास्थ्यमा विशेष आरोही राखिने भएको छ ।
नेपाल आउनु अगाडि नै आरोहीले कोरोना भाइरसको परीक्षण गर्नु पर्नेछ । नेगेटिभ आएपछि मात्र नेपाल आउन पाइन्छ । नेपाल आएपछि पनि पर्यटकले अनिवार्य क्वारेन्टिनका नियम पालना गर्नुपर्छ । आरोहण अनुमति लिने बेला पर्वतारोही स्वयमःले आफू आरोहणमा जान योग्य रहेको स्वःघोषणा गर्नुपर्छ । त्यसपछि मात्र आरोहण अनुमति जारी हुन्छ ।