काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट कोओपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङविरूद्ध ३ अर्ब ३१ करोड रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो । सम्पत्ति शुद्धीकरण विभागले तामाङसँग ३ अर्ब ३१ करोड ८५ लाख ९२ हजार ९४२ रुपैयाँ बिगो दाबी गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। एक कित्ता जग्गासहित विभिन्न ६९ कम्पनीमा रहेको विभिन्न कित्ता शेयर पनि जफत गर्न माग गरेको हो। तामाङकी श्रीमती सिर्जना शाक्य तामाङसँग पनि एक अर्ब तीन करोड ५४ लाख ४३ हजार ४८७ रुपैयाँ बिगो मागदाबी विभागले गरेको छ।
उनको एउटा सवारी साधन, विभिन्न कित्ता जग्गा र विभिन्न स्थानको कसुरबाट प्राप्त भएको जग्गा पनि जफत गर्न माग गरेको छ। प्रतिवादीहरू प्रतिक्षा तामाङसँग ६ करोड २२ लाख ३३ हजार ९७ रुपैयाँ, प्रतिशासँग १ करोड ८९ लाख १८ हजार ६४६ रुपैयाँ र सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठसँग २६ करोड ६१ लाख ४५ हजार ५३० रुपैयाँ बिगो दाबी गरेको छ। विभागले प्रतिवादी मिनाकुमारी श्रेष्ठको काठमाडौंका विभिन्न स्थानमा रहेका ७ कित्ता जग्गा पनि जफत गर्न अदालतसँग माग गरेको छ।
इच्छाराज तामाङले ठगी गरेको उजुरी परेपछि केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरेको थियो। अनुसन्धान गरी उनी लगायतले ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रुपैयाँ ठगी गरेको भन्दै ब्युरोले काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो। यसमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दा आकर्षित भएपछि विभागले पनि अनुसन्धान थालेको हो।
उनीहरूले आर्जन गरेको सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने, छल्ने, हस्तान्तरण र रूपान्तरण समेतका निषेधित कार्यहरू गरी सम्पत्ति शुद्धीकरण कसुर गरेको विभागको ठहर छ। त्यस्तै, इच्छाराजले आफ्ना परिवारका मानिसहरूबीच अंशबण्डा समेत गरेको जनाएको छ