१२ असार, काठमाडौं । इजरायलका रक्षामन्त्री इजरायल काट्जले बुधबार इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा गरेका छन् । यो कदम इरान समर्थित उग्रवादी समूहहरूलाई आर्थिक सहयोग रोक्ने उद्देश्यले लिइएको र दुई शत्रुबीच युद्धविराम लागू भएको एक दिनपछि आएको बताइएको छ ।
“मन्त्री काट्जले इरानको केन्द्रीय बैंक, दुई अतिरिक्त इरानी बैंक र एक इरानी सशस्त्र बल सम्बद्ध कम्पनीलाई आतङ्कवादी सङ्गठनका रूपमा घोषणा गर्ने विशेष आदेशमा हस्ताक्षर गरे । उनको कार्यालयको विज्ञप्तिमा भनिएको छ, “इरान विरुद्ध इजरायलको व्यापक अभियानको हिस्सा भएको यो कदमको उद्देश्य इरानी शासनको आतङ्कवादी वित्तपोषण प्रणालीको मुटुलाई लक्षित गर्नु हो, जसले मध्यपूर्वभर आतङ्कवादलाई वित्त पोषण, हतियार र निर्देशन दिन्छ ।”
लामो समयदेखिका शत्रुहरू इरान र इजरायलले मङ्गलबार १२ दिनको जवाफी आक्रमण समाप्त गर्दै युद्धविराममा सहमति जनाएका थिए । दुई पक्ष दशकौँदेखि छायाँ युद्धमा फसेका छन् । इजरायलले सन् २०२३ अक्टोबरदेखि गाजा पट्टीमा हमाससहित यस क्षेत्रका धेरै इरान समर्थित समूहसँग लडिरहेको छ । इजरायलले जुन १३ मा सुरु भएको आफ्नो बमबारी अभियानको उद्देश्य इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु रहेको बताएको थियो ।
आणविक हतियार प्राप्त गर्ने महत्त्वाकांक्षालाई तेहरानले लगातार अस्वीकार गर्दै आएको छ । “हामीले एउटा महत्त्वपूर्ण चरण सम्पन्न गरेका छौँ तर इरान विरुद्धको अभियान समाप्त भएको छैन । हामी हालको उपलब्धिहरूका आधारमा नयाँ चरणमा प्रवेश गरिरहेका छौँ”, इजरायली सेनाका प्रमुख इयाल जमीरले मङ्गलबार एक विज्ञप्तिमा भने ।