काठमाडौं । अविरल रुपमा बमवर्षा गर्दै निहत्या नागरिकको ज्यान लिइरहेको इजरायललाई अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो मुलुकको समर्थन रहेको सन्देश दिएका छन् । हमासले इजरायलमा गरेको आतंककारी हमलाको विरुद्धमा इजरायलले गाजा क्षेत्रमा बम खसालिरहेको छ । यसबाट निहत्था नागरिकको ज्यान गएको छ । मंगलबार राती मात्र एक अस्पतालमा बम खस्दा कम्तिमा १ हजार जना मानिस मारिएका छन् ।
यो आक्रमण अगाडी आक्रामक देखिएका अमेरिका र इजरायली नेता त्यसपछि भने रक्षात्मक स्थितिमा पुगेका छन् । जुन घटनाको विश्वभर आलोचना भइरहेको छ । जो बाइडेन केबल चार घण्टाका लागि इजरायल पुगेका थिए । उनले इजरायल एक्लै नभएको र अमेरिका उसको साथमा रहेको बताए ।
प्यालेस्टिनी चरमपन्थी समूह हमासविरुद्धको लडाइँमा अमेरिकाले सुरुदेखि नै इजरायललाई साथ दिँदै आएको छ । अमेरिकाले हमासलाई प्रतिबन्धसमेत लगाएको छ । पछिल्लोपटक हमासले २० असोजमा एक्कासी इजरायलमाथि आक्रमण गरेको थियो । त्यसपछिका दोहोरो लडाइँमा परी दुवैतर्फ ४ हजार ५०० भन्दा बढीको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बाइडनको आग्रहमा इजिप्टले गाजा क्षेत्रमा गर्न चाहेको सहयोग सीमित मात्रामा उपलब्ध गराउने अनुमति दिन इजरायल तयार भएको छ । तर, त्यसका लागि बन्दी निशर्त रिहाई हुनुपर्ने शर्त राखिएको छ । बाइडनले गाजा क्षेत्रका पीडितलाई मद्दत गर्ने घोषणा पनि गरेका छन् ।
बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति बाइडनले गाजा र वेस्ट बैंकमा मानवीय सहायता पुर्याउन १०० मिलियन डलर सहयोग घोषणा गरेका छन् । अमरिकाले उपलब्ध गराउने रकमबाट १० लाखभन्दा बढी विस्थापित र युद्ध प्रभावित प्यालेस्टिनीले राहत पाउने बताइएको छ । तर यो सहयोग हमास या अरु कुनै आतंकवादी समूहसम्म पुग्न नहुनेमा बाइडनले जोड दिएका छन् ।