काठमाडौं । इजराइलले गाजामा गरेको भीषण आक्रमणमा कम्तिमा ४ सय मारिएका छन् । मंगलबार इजराइली सेनाले सो आक्रमण गरेको हो । गाजामा युद्धविराम सुरू भएको माघ ५ गते यताकै ठूलो आक्रमण हो। इजराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले युद्धविराम लम्ब्याउन अस्वीकार गरेका कारण आफूले आक्रमण गर्न निर्देशन दिएको बताएका छन् ।
उनले गाजाका नागरिकलाई सुरक्षित स्थानमा जान पनि निर्देशन दिएका छन्। इजराइलले हमासविरूद्ध अझै सशक्त ढंगले आक्रमण गर्नेछ। अब युद्धविराम र शान्तिको वार्ता सामान्य अवस्थामा होइन आक्रमणकै बीच हुनेछ, सैनिक आधार शिविरबाट नेतन्याहुले भने। हमासले इजराइली प्रहारको महुसस गरिसकेको पनि नेतन्याहुले बताएका छन्। यो त केबल सुरूवात मात्रै हो, उनले भने।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार इजराइलले गाजाको उत्तरदेखि दक्षिणसम्मका घरहरू र पाल टाँगिएका शिविरहरूमा आक्रमण गरेको थियो। प्रत्यक्षदर्शीहरूले मंगलबार राति इजरायली विमानले गाजा शहरमा मिसाइल प्रहार गरेको बताएका छन्। इजराइल र हमासबीच माघ ५ गते तीन चरणको युद्धविराम हुनेगरी गजामा पहिलो चरणको युद्धविराम घोषणा भएको थियो।
४२ दिनपछि मध्यस्तकर्ताहरुले दोस्रो चरणको युद्धविरामका लागि सहमति जुटाउन नसकेपछि अमेरिकी अधिकारीहरूको प्रस्तावमा इजराइल गाजामा थप ४२ दिनको पहिलो चरणकै युद्धविराम अवधि बढाउन सहमति भएको थियो। तर हमासले भने दोस्रो चरणको युद्धविराम हुनुपर्ने माग राख्दै पहिलो चरणकै युद्धविराम लम्ब्याउने प्रस्तावालाई नकारिदिएको थियो।