इजरायलले भैरहवा विमानस्थलमा सिधा उडानको इच्छा देखायो

काठमाडौं । भैरहवामा निर्माणधिन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा छ । यो विमानस्थलमा इजरायलले सिधा उडानको इच्छा व्यक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र नेपालका लागि इजरायलका राजदूत हेनान गोदरबीच सोमबार भएको भेटवार्तामा इजरायल सरकारले यस्तो संकेत गरेको हो । भेटमा राजदूत गोदरले इजरायल–भैरहवा सिधा हवाई उडान गर्न इजरायल सरकार इच्छुक रहेको समेत जानकारी गराएको आलेको सचिवालयले जनाएको छ ।


भेटवार्तामा राजदूत गोदरले इजरायल र काठमाडौं बीच सिधा हवाई उडानका लागि इजरायल सरकारले पहल गर्ने आश्वासन समेत दिएका छन् । राजदूत गोदरले नेपालको आन्तरिक हवाई उडानमा विदेशी र नेपालीको असमान हवाई भाडादरका विषयमा चासो व्यक्त गरेका छन् । मन्त्री आलेले नेपाल र इजरायल बीच सिधा हवाई सम्पर्कका लागि आफूहरु तयार रहेको जानकारी राजदूत गोदरलाई गराएका थिए ।

उता, आगामी साताबाट इजरायल जाने नेपाली श्रमिकलाई नेपाल एयरलाइन्सको जहाजबाट लैजानेबारे समेत भेटमा छलफल भएको छ । पर्यटनमन्त्री आलेको सचिवालयका अनुसार भेटका क्रममा आगामी दुई साताभित्र कम्तिमा एक हजार नेपाली श्रमिक इजरायल जाने भन्दै त्यसका लागि नेपाल एयरलाइन्सको वाइडबडी जहाज भाडामा लिनेबारे छलफल भएको हो । भेटको क्रममा राजदूत गोदरले यस्तो इच्छा व्यक्त गरेको सचिवालयले जनाएको छ ।

भेटमा नेपालको आन्तरिक हवाई उडानमा विदेशी र नेपाली बीच रहेको असमान हवाई भाडादरका विषयमा समेत कुराकानी भएको छ । सो क्रममा मन्त्री आलेले भाडा घटाउन पहल गर्ने बताएका छन् । मन्त्री आलेले नेपालको विविध क्षेत्रमा इजरायले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास समेत व्यक्त गरेका छन् ।

नेपाल सरकारले निजगढमा निर्माण गर्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लगानीकर्ता जुटाइ दिन वा जीटूजीमार्फत काम गर्न समन्वय गरिदिन मन्त्री आलेले राजदूत गोदरसँग आग्रह गरेका छन् । यस विषयमा राजदूत गोदरले आवश्यक समन्वय र पहल गर्ने आश्वासन दिएका छन् ।