इजरायली आक्रमणमा एकै दिन ४२ प्यालेस्टिनीको मृत्यु

Photo : REUTERS/Mohamad Torokman

काठमाडौं\एजेन्सी । इजराययले गरेको निरन्तर आक्रमणबाट आइतबार ठूलो मानवीय क्षति भएको छ । गाजास्थित् प्यालेस्टिनी अधिकारीहरुका अनुसार एक साताअगाडि इजरायलले शुरु गरेको लडाइँयता आइतवार सबैभन्दा घातक दिन रह्यो। बीबीसीका अनुसार इजरायलको हवाई हमलामा आइतबार एकै दिन ४२ जनाभन्दा धेरैको ज्यान गएको छ।

इजरायली सेनाका अनुसार प्यालेस्टिनी विद्रोहीहरूले गत एक सातामा तीन हजारभन्दा धेरै रकेट प्रहार गरेका छन्। गाजास्थित प्यालेस्टिनी हमास विद्रोहीहरूविरुद्ध इजरायलले सैनिक कारबाही ‘पूर्ण शक्ति’का साथ जारी रहने इजरेली प्रधानमन्त्री बेन्जामित नेतान्याहुले प्रतिक्रिया समेत दिएका छन् ।

उनले शान्ति बहाली गर्न जति समय आवश्यक हुन्छ त्यति समयसम्म कारबाही जारी राख्ने उनले चेतावनी दिएको बीबीसीले लेखेको छ । आइतवार मध्यरातपश्चात् इजरेली हवाई हमलामा गाजाको व्यस्त सडक परेको थियो। त्यहाँ तीनवटा भवन भत्कँदा दर्जनौँको ज्यान गएको खबर सार्वजनिक भएको छ ।

उता, हमासको तर्फबाट समेत राति दक्षिण इजरायलमा कैयौँ रकेट हानिएको थियो । गाजाका अधिकारीहरूका अनुसार पछिल्लो हमलामा १६ महिला र १० बालबालिकासहित कम्तिमा ४२ जनाको ज्यान गएको छ। हालसम्म गाजामा कुल १९७ जनाको ज्यान गएको छ । यसमा ५८ बालबालिका तथा ३४ महिला छन्। इजरायलमा भने अहिलेसम्म १० जनाको ज्यान गइसकेको छ ।