इजरायल जान १ हजार ६ सय जनाको नाम सिफारिस

Photo : TOI\ Moshe Shai/Flash90

काठमाडौं । नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन १ हजार ६ सय जनाको नाम सार्वजनिक भएको छ। वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरालय जान लिइएको लिखित र अन्तर्वाताका आधारमा उनीहरुलाई छनोट गरेको राससले लेखेको छ । नेपालस्थित इजरायली दूतावासबाट परराष्ट्र मन्त्रालयमार्फत एक हजार ६ सय (७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष) उम्मेदवार सिफारिस गर्न माग गरेको थियो ।

परीक्षामा एक हजार ८०३ सहभागीमध्ये शैक्षिक योग्यता र तालिमको प्रमाणपत्र प्रमाणीकरण हुन नसकेको सङ्ख्या घटाउँदा कायम भएका उम्मेदवारमध्येबाट अन्तर्वाता र लिखित परीक्षा लिइएको थियो । लामो समयसम्म रोजगारीका लागि इजरायल जान रोकिएको भए पनि उसले नै दुई वर्ष पहिले दुई देशका सरकारबीचको सहमति सम्झौताबाट खुलाउने इच्छा देखाएको मन्त्रालयले उल्लेख गरेको छ ।

विभागले लिएको लिखित परीक्षामा ६ हजार ३१७ सहभागीमध्ये २ हजार ३९ लिखित परीक्षामा उत्तीर्ण भएका थिए । विभागले असोज १ देखि ३ गतेसम्म उचाइ र तौलको परीक्षा लिएकामा त्यो बीचमा छुटेका व्यक्तिलाई अन्तर्वाता अवधिभरलाई अवसर दिएको थियो । सम्झौताअनुसार १ हजार जना इजरायल जानेछन् ।