रोम । कोरोना भाइरसको बढ्दो संक्रमणपछि इटली पुनः लकडाउनमा प्रवेश गरेको छ । इटलीमा सरकारले आजबाट लागु हुने गरी दुई हप्ताका लागि लकडाउन घोषणा गरेको हो । इटालीका चार क्षेत्र लोम्बार्डिया, पिओमोन्ते, कालाबृया र भाले डि ओस्टालाई रेड जोन घोषणा गरिसकिएको छ। यी क्षेत्र कोराना भाइरसबाट बढी प्रभावित छन् ।
कोरोनाको दोस्रो लहर रोक्न र अस्पतालमा कोरोनाले बढेको चाप कम गर्न लकडाउन गरिएको इटालीका प्रधानमन्त्री जुजेप्पे कन्तेले बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । इटालीमा यसअघि पहिलोपटक गत मार्चमा लकडाउन गरिएको थियो ।
लकडाउनको रेड जोन घोषणा गरिएका प्रदेशहरूबाट मानिसको आवतजावत रोकिएको छ ।
स्वास्थ्यसहितका अत्यावश्यक काममा भने सेल्फ प्रमाणीकरणको सर्टिफिकेटसहित बाहिर निस्कन पाइने छ । संक्रमणको संख्या अत्यधिक बढेसँगै इटालीका अस्पतालमा बिरामी राख्ने ठाँउको पनि अभाव हुन थालेको छ ।
अस्पतालमा बिरामी राख्ने ठाँउ नभएपछि एम्बुलेन्समै घण्टौँसम्म बिरामी राख्नु पर्ने बाध्यता आएको छ । इटालीमा कोरोना भाइरसको संक्रमणबाट ४० हजार १९२ जनाको मृत्यु भइसकेको छ । संक्रमित संख्या ८ लाख २४ हजार ८७९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३४ हजार नयाँ संक्रमित थपिए ।