‘इण्डियन भेरियन्ट’ लेखेका पोष्ट सामाजिक संजालबाट हटाउन भारत सरकारको निर्देशन

नयाँ दिल्ली । कोरोना भाइरस महामारीबाट दैनिक ४ हजार भन्द्या बढी मानिसको ज्यान गइरहेको समयमा भारत सरकार भने कोरोना भाइरसको नामसँग भड्किएको छ । भारत सरकारले ‘इण्डियन भेरियन्ट’ लेखिएका र यसप्रति संकेत गरिएको सबै पोस्ट सामाजिक सञ्जालबाट हटाउन सम्बन्धित कम्पनीलाई निर्देशन दिएको छ । बीबीसीका अनुसार भारत सरकारको सूचना प्रौद्योगिकी मत्रालयले विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको १.६१७ भेरियन्टलाई इण्डियन भेरियन्ट नभनेको भन्दै यसलाई उक्त नाम दिन नहुने बताएको हो ।

कोरोना भाइरसको भेरियन्ट भेटिएको स्थानका आधारमा नाम दिने गरिएको छ । भारत सरकार पछिल्लो समय सामाजिक संजालमार्फत भइरहेको चर्को आलोचनाबाट डराइरहेको छ । यसले उसको क्षतिको सम्बन्धमा व्यापक प्रचार भइरहेको छ । पछिल्लो महिना भारत सरकारले सामाजिक सञ्जाल कम्पनीहरुसँग कोरोना महामारीबाट मुक्त हुनको लागि सरकारको आलोचना गरिएको पोस्ट हटाउन निर्देशन दिएको थियो । शुक्रबार सूचना प्रौद्योगिकी मन्त्रालयले एक सरकारी आदेश जारी गर्दै सामाजिक सञ्जाल कम्पनीहरुलाई यो आदेश दिएको छ ।