जाकार्ता । इन्डोनेसियामा बाढी र पहिरोले वितण्ड मच्याएको छ । यहाँ विभिन्न घटनामा परी कम्तिमा ४४ जनाको मृत्यु भएको खबर आएको छ । इन्डोनेसिया विपत् व्यवस्थापन निकाय, (रादिति अ जाती)लाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाए अनुसार देशको पूर्वी क्षेत्रस्थित नुसा टेङ्गरा प्रान्तमा भीषण वर्षा भएको छ ।
यसले निम्त्याएको बाढी र पहिरोमा परी कम्तिमा ४४ जनाको मृत्यु भएको छ । विभिन्न स्थानमा खोज तथा उद्धारको काम जारी रहेका कारण मानवीय क्षति अझ बढ्न सक्ने समेत जनाइएको छ । बाढी पहिरोले दर्जनौं घर बगेका छन् । ठूलो भौतिक क्षति पुगेको समाचारमा उल्लेख छ ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार जारी छ । उता, इन्डोनेसियामै पश्चिम जाभाको समुद्री क्षेत्रमा शनिबार साँझ एउटा माछा मार्ने डुङ्गा ठूलो पानीजहाजमा ठोक्किएर भएको दुर्घटनामा कम्तिमा १७ जना वेपत्ता भएका छन् । बान्डुङ उद्धार एजेन्सीका प्रवक्ता सेनी उलानडारीले १५ जनालाई उद्धार गरिएको र हराइरहेका अरु १७ जनाको खोजीकार्य जारी रहेको बताएका छन् ।