इथियोपियामा हवाई हमला, कम्तिमा ६० जना मारिए

Getty images

काठमाडौं\एजेन्सी । उत्तरपूर्वी इथियोपियाको टिग्रे भन्ने क्षेत्रमा रहेको एउटा बजारमा सरकारी फौजले गरेको हवाई हमलामा कम्तिमा ६० जना मारिएका छन् । बीबीसीका अनुसार आक्रमणमा दर्जनौँ मानिस घाइते छन् । प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले लेखे अनुसार इथियोपियाको हवाई फौजले उक्त क्षेत्रको राजधानी मिकाइलीबाट २५ किलोमिटर टाढा अवस्थित टोगोगा बजारमा आक्रमण गरेको हो ।

इथियोपियाको सेनाले गैर सैनिकहरूलाई निशाना नबनाएको बताउँदै आफ्नो हमलाले आतङ्कवादीलाई निष्क्रिय बनाउने उद्देश्य राखेको दावि गरेको
। तर, मारिनेमा सर्वसाधारण रहेका छन् । टिग्रेको विद्रोही सेनाले भने आफूहरूले प्रगति गरिरहेको दावि गर्छन् । संयुक्त राष्ट्रसङ्घले इथियोपियाको सरकारलाई हवाई हमलाका विवरणबारे अनुसन्धान गर्न आग्रह गरेको छ ।

करिब आठ महिनाअघि द्वन्द्व सुरु भएयता यो मुलुकमा हजारौँ व्यक्तिले ज्यान गुमाएका छन् । लाखौँ विस्थापित भइसकेका छन् । काइलीको एउटा प्रमुख अस्पतालका चिकित्सकले कम्तीमा ६० जना मारिएको र ४० जनाभन्दा बढी घाइते भएको आंकडा दिएका हुन् ।