काठमाडौं । संसदीय समितिले ईपीएस परीक्षा पास गरेर पनि कोरिया जान नपाएका नेपाली कामदारलाई कोरिया पठाउने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले ईपीएस परीक्षा पास गरेर बसेका कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा निर्देशन दिएको हो ।
ईपीएस परीक्षा पास गरेर बसेका करिब १० हजार श्रमिक कोरिया जान पाएका छैनन् । श्रमिकले दक्षिण कोरिया पठाउने काममा सरकारले आलटाल गरेको भन्दै समितिमा उजुरी दिएपछि समितिले सुनुवाई गर्दै सम्बन्धित मन्त्रालयसँग छलफल गरी आवश्यक प्रक्रिया पूरा गरी तत्काल उनीहरुलाई दक्षिण कोरिया पठाउन निर्देशन दिएको हो ।
बैठकमा ईपीएस परीक्षा पास गरेका श्रमिकहरुलाई समेत दक्षिण कोरिया पठाउने काममा आलटाल गरेको भन्दै समितिका सदस्यले सरकारको आलोचना गरे । मुख्य सचिव शंकरदास बैरागीले आवश्यक प्रक्रिया पूरा गरी ईपीएस परीक्षा पास गरेकाहरुलाई छिटो दक्षिण कोरिया पठाउन आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।