इराकका प्रधानमन्त्रीको हत्या प्रयास, अमेरिकाले गर्यो निन्दा

GETTY IMAGES\BBC

बगदाद । इराकका प्रधानमन्त्री मुस्तफा अल खादिमीको हत्या प्रयास भएको छ । इराकको राजधानी बगदादस्थित आफ्नो निवासमा आक्रमण भएपछि आफू त्यहाँबाट भागेको उनको भनाई छ । बीबीसीका अनुसार उक्त आक्रमणलाई उनको हत्या गर्ने प्रयास भनिएको छ। अधिकारीहरूका अनुसार राजधानीस्थित ग्रीन जोनमा रहेको उनको निवासमा विस्फोटक पदार्थ राखिएको एउटा ड्रोनबाट आक्रमण गरिएको थियो।

सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री अल-खादिमीलाई अस्पताल लगिएको थियो। तर उनले आफू घाइते नभएको बताएका छन्। सामाजिक सञ्जालमा ट्विटरमा उनलेूइराकको हितका लागि सबैलाई शान्त र संयमित हुन आह्वान गरेका छन्। अधिकारीहरूका अनुसार प्रधानमन्त्रीको सुरक्षार्थ खटिएकामध्ये छ जना घाइते भएका छन्।

कैयौँ सरकारी भवन र दूतावासहरू अवस्थित क्षेत्रमा देशका प्रधानमन्त्रीमाथि त्यसरी आक्रमण भएको हो। आक्रमणका कारण इराकी प्रधानमन्त्रीको निवासमा क्षति पुगेको थियो । इराकी सञ्चारमाध्यममा प्रकाशित तस्बिरहरूमा प्रधानमन्त्री निवासका केही भाग र एउटा गाडीमा क्षति पुगेको देखिन्छ।

सुरक्षाकर्मीहरूले आक्रमणमा प्रयोग गरिएको एउटा सानो ड्रोनको अवशेष परीक्षणका लागि लगेको नाम उल्लेख नगरिएका एक सुरक्षा अधिकारीले रोएटर्सलाई बताएको समेत समाचारमा उल्लेख छ । अहिलेसम्म कसैले आक्रमण आफूले गराएको दाबी गरेको छैन। अमेरिकाले घटनालाई आतङ्कवादी कृत्य भनेको छ । उसले अनुसन्धानमा सहयोग गर्ने प्रस्ताव गरेको छ।