बगदाद । इराकको राजधानी बगदादमा बम विस्फोट भएको छ । घटनामा कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको सुरक्षा स्रोतलाई उदृत गर्दै बीबीसीले जनाएको छ । विस्फोटन एउटा व्यस्त बजारमा भएको हो । सर्वसाधारणहरूले मङ्गलवार मुस्लिम पर्व इदको तयारी गरिरहँदा उत्तरी साड सहर क्षेत्रमा विस्फोट भएको हो। पछिल्लो छ महिनामा त्यहाँ भएको यो सबैभन्दा घातक विस्फोट हो। इस्लामिक स्टेट (आईएस) समूहले घटनाको जिम्मेवारी लिएको छ।
इराकी सरकारले सन् २०१७ को अन्त्यमा सुन्नी मुस्लिम जीहादी समूहमाथि विजयी भएको घोषणा गरेको थियो। तर, यो समूह अझै सक्रिय छ । गत अप्रिलमा चार जनाको मृत्यु हुने गरी गरिएको कार बम हमलामा पनि आफ्नो हात रहेको आईएसले जनाएको थियो। उसले गत जनवरीमा ३२ जनाको ज्यान जाने गरी गरिएको आक्रमणको समेत जिम्मा लिएको थियो ।