इरानको रेभलुशन गार्ड कोरलाई आतंकवादी संगठन घोषणा गर्ने तयारी

लण्डन । यूके र ईयूले इस्लामिक रेभलुशन गार्ड कोर (आईआरजीसी) लाई छिटै आतङ्कवादी सङ्गठन घोषणा गर्ने सक्ने बीबीसीले लेखेको छ । आईआरजीसी इरानको सैन्य, राजनीतिक र आर्थिक बल हो जसले देशभित्र सत्ताका लागि रहेका खतराको सामना गर्छ भने देशबाहिर उसको सामर्थ्यलाई देखाउँछ। यूकेका विदेशमन्त्री जेम्स क्लेभर्लीले अलीरेजा अकबरीलाई इरान सरकारले मृत्युदण्ड दिएपछि आईआरजीसीलाई आतङ्कवादी सङ्गठन घोषणा गर्नेबारे विचार गरिरहेको बताएका हुन् ।

इरानका पूर्वमन्त्री समेत रहेका अकबरी पछि यूके गए र त्यहीको नागरिक बने। पछि अकबरीलाई “प्रलोभन”मा पारी इरान फर्काइयो र त्यहाँ उनीमाथि “इरानी सत्ताको कुख्यात स्वेच्छाचारी कानुनी प्रक्रिया” चलाइयो। अकबरीमाथि यूकेका लागि जाजुसी गरेको आरोप लगाइएको थियो। उक्त आरोपको उनले खण्डन गरेका थिए र आरोप स्वीकार्न इरानी एजेन्टहरूले आफूलाई यातना दिएको बताएका थिए।

यूकेका गुप्तचर निकायहरूले पनि यूकेमा बस्दै आएका इरानी पत्रकारहरूसहित दश जनालाई गत वर्षभरिमा इरानका गुप्तचर निकायहरूले निशाना बनाएको बताएका छन्। जर्मन विदेशमन्त्री अनालेना बेअरबोक र युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेअर लायनले पनि आईआरजीसीलाई आतङ्कवादी सङ्गठनको सूचीमा राख्न ईयूलाई अपील गरेका छन्।

बाइस वर्षीया माशा अमिनीको मृत्युपछि इरानमा शुरू भएको प्रदर्शनमाथि गरिएको दमनमा आईआरजीसीको भूमिकालाई उनीहरूले उल्लेख गरेका छन्। नैतिकता प्रहरीले हिरासतमा लिएका बेला माशा अमिनीको मृत्यु भएको थियो। युरोपेली संसद्‌ले आईआरजीसीलाई आतङ्कवादी सङ्गठनको रूपमा लिने पक्षमा एउटा सङ्कल्प प्रस्ताव पारित गरेको छ। तर सदस्य राष्ट्रहरूले त्यसलाई अनुमोदन गर्नुपर्ने हुन्छ।

हिजबुल्लाहजस्ता सशस्त्र समूहलाई समर्थन गर्दै आएकोले संयुक्त राज्य अमेरिकाले सन् २०१९ मै आईआरजीसीलाई आतङ्कवादी सङ्गठनको सूचीमा राखेको थियो। इरानी क्रान्तिपछि नयाँ इस्लामिक प्रणालीको प्रतिरक्षा गर्ने उद्देश्यका साथ सन् १९७९ मा आईआरजीसी स्थापना गरिएको थियो। इरानको नियमित सैनिक बलको विकल्पका रूपमा त्यो सञ्चालन भयो। “त्यो एउटै मिलिसिया ब्रिग्रेड हुने गर्थ्यो।

तर अहिले एउटा ठूलो सङ्गठनको रूपमा विकसित भएको छ,” लन्डनमा अवस्थित च्याटम हाउस इन्टरन्याश्नल नामक थिङ्क ट्याङ्कका सनम विकालले भने। आईआरजीसीको आफ्नै स्थल, नौसेना र हवाई बल छ जसमा अनुमानित १,९०,००० सैनिक छन्। उसले इरानको बलिस्टिक क्षेप्यास्त्र र परमाणु कार्यक्रमलाई सञ्चालन गर्छ। आईआरजीसीले आफ्नो अर्धसैनिक निकाय बासिज रेसिस्टेन्स फोर्समार्फत्‌ इरानमा आन्तरिक सुरक्षा कायम राख्छ।