काठमाडौं । अमेरिकाका सरकारी कर्मचारीले शनिवार दिउँसो प्राप्त गरेको एउटा इमेलमा उनीहरूलाई गत साताका उपलब्धि सूचीबद्ध गर्न वा राजीनामा दिन आग्रह गरिएको थियो। डोनाल्ड ट्रम्प प्रशासनले सङ्घीय कर्मचारीलाई लक्षित गरी चालेको पछिल्लो कदमलाई लिएर कर्मचारी वृत्तमा भने तनाव सुरु भएको छ ।
ट्रम्पका विश्वासपात्र अर्बपति इलोन मस्कले गत साता उनीहरूले के गरे भन्ने बुझ्न कर्मचारीहरूले चाँडै इमेल प्राप्त गर्ने जनाउँदै ट्वीट गरेका थिए । लगत्तै कर्मचारीले त्यस्तो इमेल पाएका छन् । उनले लेखेका थिए, ‘उत्तर दिन असफल भएमा त्यसलाई राजीनामाका रूपमा लिइने छ।’ मस्कले सरकारी खर्च कटौतीका लागि आक्रामक रूपमा कोषहरूलाई निलम्बन गर्ने तथा कर्मचारीहरूलाई हटाउने प्रयासको नेतृत्व गर्दै आएका छन्।
ट्रम्पले कन्जर्भेटिभ पोलिटिकल एक्सन कन्फरेन्स (सीप्याक) मा बोलेको केही समयपछि उक्त इमेल कर्मचारीहरूको इनबक्समा प्राप्त भएको थियो। त्यसको विषयमा ‘तपाईंले गत साता के गर्नुभयो ? भनेर लेखिएको थियो। इमेल पठाउनेमा एचआर अर्थात् जनशक्ति व्यवस्थापन गर्ने निकाय उल्लेख गरिएको छ।
बीबीसीले प्राप्त गरेको इमेलको प्रतिलिपिमा कर्मचारीहरूलाई सोमबार मध्यरातअघि गोप्य जानकारीको खुलासा नगरी पाँच वटा बुँदामा गत साता कर्मचारीहरूले गरेका काम तथा उपलब्धिबारे उल्लेख गर्न भनिएको छ। यद्यपि उक्त इमेलमा जबाफ दिन असफल भएमा त्यसलाई राजीनामा मानिने छ वा छैन भनेर उल्लेख गरिएको छैन।
सङ्घीय कर्मचारीहरूको प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो कर्मचारी युनियनले उक्त कदमलाई क्रूर र अनादरपूर्ण भनेर आलोचना गरेको छ। उसले सङ्घीय सेवाका कर्मचारीहरूलाई कुनै पनि तरिकाले गैरकानुनी रूपमा हटाउने कार्यलाई कानुनी चुनौती दिने वाचा पनि गरेको छ। उक्त युनियनका अध्यक्ष एभरेट केलीले एउटा विज्ञप्तिमा भनेका छन्, एकपटक फेरि इलोन मस्क र ट्रम्प प्रशासनले सङ्घीय कर्मचारीहरू र उनीहरूले अमेरिकी जनतालाई प्रदान गर्ने महत्वपूर्ण सेवालाई घोर अपहेलना गरेका छन्।’