उड्डयन क्षेत्रमा महिलामाथि हुने दुर्व्यवहारको उजुरी लिन स्थायी युनिट स्थापना गरिने

काठमाडौं । नागरिक उड्डयन क्षेत्रमा महिलामाथि हुने दुर्व्यवहारको उजुरी लिन स्थायी युनिट स्थापना गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले यस्तो जानकारी गराए । सोमबार मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै मन्त्री किरातीले नागरिक उडड्यन तथा प्राधिकरण क्षेत्रमा महिलाहरु माथि हुने दुर्व्यवहारसम्बन्धी उजुरी लिने स्थायी युनिट निर्माण गर्ने तयारी रहेको जानकारी गराएका हुन् ।

पछिल्लो समय ककपिट भित्रै एयरहोस्टेसमाथि दुर्व्यवहार गरेको आरोपमा निगमका पाइलटमाथि छानविन भइरहेको छ । मन्त्री किरातीले नेपाल एयरलाइन्सका जहाज ग्राउन्डेड हुने समस्याबारे छानविन गर्न समिति गठन गर्ने समेत उनले जानकारी दिए । उक्त अवसरमा मन्त्री किरातीले पशुपति विश्वविद्यालय स्थापनाको योजना रहेको समेत जानकारी दिए ।

उनकाअनुसार पशुपति सरसफाइ ३ महिने अभियान, नेपाल सरसफाई संस्थागत गर्न निर्देशिका तयार गरिने समेत उनले जानकारी दिए । सम्पदा क्षेत्रमा ९हप एण्ड हप अप० यातायात सञ्चालन गर्ने योजना उनले सुनाएका छन् । मन्त्री किरातीले नागरिक उडड्यन विद्येयक प्रक्रिया अगाडि बढाउने समेत जानकारी दिए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न कुटनितिक पहल थाल्ने, भरतपुर विमानस्थल विस्तार गर्ने र नमस्ते पर्यटक सेवा विस्तार गर्ने समेत उनले जानकारी गराए । मन्त्री किरातीले आफू मन्त्री भएपछि ५ वटा काम सम्पन्न भएको समेत जानकारी गराए ।

जसमा नेपाल एयरलाइन्सको अनलाइन टिकेटिङ सुचारु भएको उनले बताए । सरसफाइ र व्यवस्थापकीय सुधार, हवाई सुरक्षासम्बन्धी काम गर्ने निर्देशन, लुम्बिनी गुरुयोजना अध्ययन र प्रतिवेदन साथै विमानस्थल तथा अन्य विभागीय क्षेत्रमा इन्टरनेटको चुस्त व्यवस्थापन रहेको उनले बताए ।