उत्तराखण्डमा पुनः हिमताल फुट्यो, क्षतिको विवरण आउन ढिलाई

File Photo : BBC-REUTERS

उत्तराखण्ड । भारतको उत्तराखण्डमा फेरि हिमताल फुटेको खबर भारतीय संचारमाध्यमले छापेका छन् । तर, संचार सम्पर्क स्थापित हुन नसकेका कारण क्षतिको विवरण नआएको उत्तराखण्ड प्रहरीले जनाएको छ । भारत–चीन सीमा क्षेत्र नजिक चमोलीको जोशीमठ भन्ने स्थानमा शुक्रबार हिमताल फुटेको संचारमाध्यमले जनाएका छन् ।

सो क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएको छ । प्रहरी अधिकारीहरुले शनिबार साँझसम्ममा पूरा विवरण आउनसक्ने बताएका छन् । सो क्षेत्रमा मानव बसोबास कम भएकाले मानवीय क्षतिको सम्भावना भएको हुन सक्ने अनुमान छ ।
बोर्डर रोड अर्गनाइजेसनका अनुसार यस क्षेत्रमा भारतीय कामदारले सडक निर्माणको काम गरिरहेको भए पनि मानवीय क्षति नभएको बताएको छ ।

जोशीमठ–मलारी सडकखण्ड हिउँले ढाकिएका कारण मानिसहरु फसेको अनुमान छ । उत्तराखण्डमै केही समय अगाडी हिमताल फुटेर अलनन्दा नदीमा आएको बाढीमा परी ५० जनाको मृत्यु भएको थियो । कैयौं अझै बेपत्ता छन् ।