उदयपुर सिमेन्टका तत्कालिन महाप्रवन्धक पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । पौडेलसहित ८ जनाले ‘भेरिएबल फ्रिक्विन्सी ड्राइभ (भीएफडी) खरिद गर्दा भ्रष्टाचार गरेको अनुसन्धानमा देखिएकाले विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । विना अध्ययन र औचित्यसमेत यकिन नगरि तथा लागत अनुमानसमेत नबनाई उपयोग नहुने सामग्री खरिद गरेको पाइएको अख्तियारले जनाएको छ ।

सामान खरिदपछि गुणस्तर परीक्षण नगराएको, जिम्मेवार पदाधिकारीबाट भुक्तानी नगरि निमित्तबाट भुक्तानी गरी महाप्रबन्धकबाट समर्थनसमेत नगराएको, खरिद गरिएको सामग्रीमध्ये १ सय ६० किलोवाटको भीएफडी प्यानले ५ वर्षसम्म पनि परीक्षण नगराएको अस्वाभाविक रूपमा बढी सामान खरिद गरेको पाइएको अख्यितारले जनाएको छ ।

अख्यितारले तत्कालीन महाप्रबन्धक पौडेलसहित त्यतिबेलाका नायब महाप्रबन्धक नवलकिशोर साह, कायममुकायम उपनिर्देशक पवनकुमार लाल कर्ण, प्रबन्धक भरतप्रसाद नेपाल, अधिकृत डेमलाल खनाल, प्रबन्धक कमलराज पौडेल, निर्देशकद्वय ध्रुबबहादुर देवकोटा र महेशप्रसाद काफ्लेलाई विपक्षी बनाएको छ । उनीहरूले २२ लाख ७८ हजार ३ सय ५ रुपैयाँ उद्योगलाई क्षति गराएको जनाउँदै त्यही बराबरको बिगो दाबी गरी मुद्दा दर्ता गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए । सुरेन्द्र पौडेल नेपाल आयल निगमको कार्यकारी निर्देशकसमेत भइसकेका थिए ।