काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप हुने भएको छ । यद्दपी विभिन्न प्रावधानलाई अझै खुकुलो बनाउने तयारी रहेको छ । सम्भवतः अब सरकारले सार्वजनिक यातायातलाई समेत जोर विजोर प्रणालीमा चलाउन दिने छ । यसबारे निर्णय गर्न आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने भएको छ । अन्तिम पटक थप भएको निषेधाज्ञाको अवधी मंगलबार सकिँदैछ ।
आजको बैठकले निषेधाज्ञा कम्तिमा एक साता लम्ब्याएर स्वास्थ्य प्रोटोकल पालना गर्ने गरि केही क्षेत्रहरु अझ खुकुलो बनाउने तयारी गरेको छ । सरकारले अहिले बार अनुसार पसल खोल्न सकिने गरि तोकेको छ । निजी सवारी साधन जोर विजोर प्रणाली अनुसार चल्छन् ।
नेपालमा लामो सयमदेखि कोरोना भाइरसको संक्रमण स्थीर छ । यसले जोखिम कायम रहेको निष्कर्षमा सरकार पुगेको छ । अहिले दैनिक औसतः ३ हजार माथिको संख्यामा संक्रमित देखिएका छन् । सरकारले असार १७ बाट चल्ने गरि आन्तरिक हवाइ उडान खोलेको छ । अन्तर्राष्ट्रियमा समेत उडान थपिएका छन् ।