उपत्यकामा ‘नो हर्न’ अभियान, प्रभावकारी कार्यान्वयन बढाइने

काठमाडौं । काठमाडौं उपत्यका १ वैशाख २०७४ मै हर्न मुक्त क्षेत्र घोषणा गरिएको हो । तर, यसको प्रभावकारी कार्यान्वयन हुन नसकेपछि प्रहरीले उपत्यकामा ‘नो हर्न’ अभियानलाई थप प्रभावकारी बनाइने भएको छ । राससका अनुसार महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘नो हर्न’ अभियान प्रभावकारी बनाउन स्टिकर टाँस्न थालेको हो ।

हर्नको प्रयोगमा अहिले केही कमी आएको छ । तर, प्रभावकारी कार्यान्वयनका लागि प्रहरीले अभियान थालेको हो । कोभिड–१९ का कारण पछिल्ला दिनमा क्रमशः हर्नको प्रयोग बढेको निष्कर्ष प्रहरीको छ । महाशाखाले उक्त स्टीकर चालकले देख्ने गरी अगाडिको सिसामा टाँसेको छ ।

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराइका अनुसार अभियानलाई प्रभावकारी बनाउन उपत्यकाको ३८ ट्राफिक कार्यालयले एकैसाथ ५० हजार नो हर्न स्टीकर टाँस गरी अभियान सुरु गरेका छन् । केही समययता अनावश्यक हर्नको प्रयोगमा क्रमश वृद्धि भइरहेको महसुस गरी थप कडाइ गर्न थालिएको उनको भनाई छ । अति आवश्यक नपरी हर्नको प्रयोग नगर्न समेत प्रहरीले चालकहरुलाई अनुरोध गरेको छ ।