उपत्यकामा पानीको बोतल १६ र जार ४७ रुपैयाँ मात्र पर्ने गरी तोकियो मूल्य

काठमाडौं । काठमाडौं उपत्यकामा बोतल प्रतिलिटर पानीको अधिकतम खुद्रा मूल्य १६ र २० लिटर जारको पानीको अधिकतम खुद्रा मूल्य ४७ रुपैयाँ तोकिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक बोतल तथा जारमा बिक्री हुने प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य तोकेसँगै उपभोक्ताले यो भन्दा महंगो मूल्य तिर्नुपर्ने छैन ।

उपत्यकाबाहिर एक लिटर बोतलको पानीको अधिकतम खुद्रा २० रूपियाँ र २० लिटर जारको पानीको अधिकतम खुद्रा मूल्य ६० रूपियाँ निर्धारण गरिएको छ । संघीय संसद् प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिबाट गठित बजार अनुगमन उपसहमतिको अध्ययन प्रतिवेदनसमेतका आधारमा विभागले बोतल र जारको पानीको खुद्रा मूल्य तोकिएको हो ।

विभागले निर्धारण गरेको मूल्यभन्दा बढी लिएको पाइएमा कानुनअनुसार कारबाही गरिने चैतावनी समेत दिएको छ । विभागले तोकेको मूल्यभन्दा बढी रकम तिरेर पानी खरिदसमेत नगर्न र काहीँकतै कसैले जबरजस्ती बढी रकम लिन खोजेमा विभाग वा मातहतका कार्यालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय वा स्थानीय तहमा सूचना दिन विभागले उपभोक्तालाई आह्वान गरेको छ ।