काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा शनिबार साढे आठ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले यस्तो जानकारी गराएको छ । काठमाडौंको रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरबाट आपूर्ति हुँदै आएको बिजुली शनिबार बिहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म प्रभावित हुनसक्ने प्राधिकरणको भनाई छ ।
हाल टेकु सबस्टेसनको स्तरोन्नती गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य भइरहेकाले विद्युत आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले जारी गरेको सूचना अनुसार विद्युत आपूर्ति सकेसम्म कम प्रभावित होस् भनेर सबै फिडरहरुमा वैकल्पिक व्यवस्था गरिएको छ ।