उम्मेदवार हुन जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आचारसंहिता कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले स्थानीय निर्वाचनमा उम्मेदवार हुन जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले निर्वाचन आचारसंहिताको सो व्यवस्था तत्काल कार्यान्वन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

जनप्रतिनिधिले पदमा वहाल रहेर स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गर्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निर्वाचन आयोगलगायतका निकायलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दिएका थिए ।

सो रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेशका लागि भने रिट निवेदक र विपक्षी दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचन हुँदैछ । निर्वाचनकोको लागि निर्वाचन आयोगले केही अघि आचारसंहिता सार्वजनिक गरेको थियो ।