काठमाडौं । सरकारले गरेको एआईजी बढुवाविरुद्धको रिटमाथि आइतबार सुनुवाइ नहुने भएको छ।
डीआईजी ईश्वरबाबु कार्कीले दायर गरेको रिट सुनुवाइका लागि न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा पेशी तोकिए पनि हेर्न नमिल्ने भन्दै स्थगित गरिएको हो।
बिहीबार दायर रिट आइतबार रेग्मीको इजलासमा पेशी तोकिएको थियो। सरकारले बरियता मिचेर कनिष्ठलाई बढुवा गरेको भन्दै असन्तुष्ट तीन डीआईजी सर्वोच्च पुगेका छन्।
तर डीआईजी घनश्याम अर्याल र प्रकाशजंग कार्कीको रिट दर्ता हुन बाँकी रहेको सर्वोच्च प्रशासनले जनाएको छ।
वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई सरकारले गत बिहीबार एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो।
उनीहरुलाई बढुवा सिफारिस गर्नासाथ तीन डीआईजीले बढुवाविरुद्धको सुनुवाइ समितिमा उजुरी गरेका थिए।
तर उक्त समितिले पनि सिफारिस सदर गरेपछि असन्तुष्ट डीआईजीहरू सर्वोच्च पुगेका छन्।