एएफसी एसियन कप : आज नेपाल र कुवेत भिड्दै

काठमाडौं । एएफसी एसियन कप छनोटमा शनिबार कुवेत र नेपाल भिड्ने भएका छन् । खेल कुवेतको कुवेत सिटीस्थित जाबेर अह अहमद इन्टरनेशनल स्टेडियममा हुनेछ । कुवेत नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको मुलुक समेत हो । उनले नेपालकोतर्फ पहिलो पटक आफ्नै देश कुवेतको विपक्षमा रहेर प्रशिक्षक सम्हाल्दैछन् । शुक्रबार अल्मुताइरीले कुवेती भाषामा दिएको एउटा अन्तर्वार्ताको अंश सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै आफूले कुवेतलाई माया गर्ने तर भोलिको खेलमा नेपालको जितका लागि प्रतिस्पर्धा गर्ने लेखेका छन् ।

खेलाडीसँगको विवादका कारण कप्तान किरण कुमार लिम्बुसहित ११ सिनियर खेलाडीलाई बाहिर राख्दै कम अनुभवी र युवा खेलाडीको टिम लिएर कुवेत पुगेका अल्मुताइरीले पहिलो खेलमा जोर्डनविरुद्ध नेपालले संतोषजनक प्रदर्शन गरेको मान्छन् । फिफा वरीयतामा कुवेत नेपाल भन्दा २२ स्थान माथि छ । नेपालले कुवेतलाई अहिलेसम्म हराएको छैन । वरीयतामा कुवेत १४६औं र नेपाल १६८औं स्थानमा छ ।