एएफसी एसियन कप छनोट : नेपालले जोर्डनको सामना गर्दै

काठमाडौं । नेपालमा तीव्र विवाद र आलोचना बोकेर कुवेत पुगेको नेपाली फुटबल टीमले आजबाट एक कठिन परीक्षामा भाग लिँदैछ । नेपाल एएफसी एसियन कप छनोट खेल्दैछ । जसमा नेपाल समूह ए बाट जोर्डन, कुवेत र इन्डोनेसियासँग खेल्दैछ । प्रतियोगिताको पहिलो खेल आज राती हुँदैछ । नेपाली समय अनुसार बिहान १ बजे शुरु हुने खेलमा नेपाल र जोर्डन भिड्दैछन् । खेलाडी र प्रशिक्षकको विवादका कारण नेपाली टीमका नियमित कप्तान किरणकुमार लिम्बुसहित ११ सिनियर खेलाडी टिममा समावेश नगरी प्रशिक्षक अब्दुल्ला अलमुताइरी कुवेत पुगेका छन् । उनीसँग कम अनुभवी तर युवा खेलाडी छन् । जसको बलमा उनले शक्तिशाली टीमको सामना गर्नुपर्नेछ ।

कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपाल र जोर्डनबीचको खेल नेपाली समय अनुसार बुधबार राति १ बजे सुरु हुनेछ । नेपाली टीमलाई फरवार्ड नवयुग श्रेष्ठले कप्तानी गर्दैछन् । नेपालले दोस्रो खेल कुवेतसँग जेठ २८ गते र तेस्रो इन्डोनेसियासँग जेठ ३१ गते खेल्नेछ । एएफसीले तेस्रो चरणको छनोटमा २४ टोलीलाई ६ समूहमा विभाजन गरेको हो । जसमध्ये नेपाल सम्मिलित समूह ए को सबै खेल कुवेतमा आयोजना हुनेछ । तेस्रो चरणको छनोटबाट ६ समूहका विजेता र पाँच उपविजेता गरी उत्कृष्ट ११ टोली मात्र अर्को वर्ष हुने एसियन कपमा छनोट हुनेछ ।