एएफसी यू-२० एसिया कप छनोट : नेपालको लगातार दोस्रो हार

काठमाडौं । बहराइनमा चलिरहेको एएफसी यू–२० एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। गतराति सम्पन्न खेलमा नेपाल कतारसँग ३–१ गोल अन्तरले पराजित भएको हो। शेख अलिबिन मोहमद अल खालिफा स्टेडियममा कतारलाई जिताउन मोहमद मन्सुर अली, मोहमद सुराग र राशिद अब्दुलाजिज अल अब्दुलाले गोल गरे। नेपालले भने एक मात्र गोल आत्मघाती उपहार पायो । खेलको ३० औं मिनेटमा मोहमद मन्सुर अलीले गोल गर्दै कतारलाई सुरूआती अग्रता दिलाएका थिए।

इन्जुरी समयमा मोहमद सुरागले गोल गर्दै कतारलाई पहिलो हाफमा नेपालविरूद्ध २–० को अग्रता दिलाए। खेलको ६० औं मिनेटमा राशिद अब्दुलाजिज अल अब्दुलाले गोल गर्दै कतारलाई ३–० को अग्रता दिलाए। त्यसपछि खेलको ७६ औं मिनेटमा जासिमल मोहमदले आत्मघाती गोल गरे । यस जितसँगै कतारले प्रतियोगितामा विजयी सुरूआत गरेको छ। कतारले पहिलो खेलमा ३ अंक जोडेको छ । लगातार दुई खेलमा हार व्यहोरेको नेपालले भने अंक जोड्न सकेको छैन। समूह ‘बी’ मा रहेको नेपाल समूहको पुछारमा रहेको छ।

यसअघि भएको पहिलो खेलमा नेपाल भुटानसँग २–० गोलले पराजित भएको थियो । यस समूहमा नेपाल र कतारसँगै भुटान, आयोजक बहराइन र बंगलादेश रहेका छन्। अब नेपालले बुधबार आयोजक बहराइनसँग खेल्नेछ। यस्तै अन्तिम खेलमा नेपालले बंगलादेशसँग अर्को हप्ताको आइतबार खेल्नेछ। समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू२० एसियन कपमा स्थान बनाउने छन्।