काठमाडौं । सरकारी अधिकृतका लागि तयारी गरेका विद्यार्थीका लागि खुसीको खबर छ । लोक सेवा आयोगले एक हजार ९६ शाखा अधिकृत पदका लागि विज्ञापन मागेको छ ।
प्रशासन, लेखा, राजश्व, परराष्ट्र, न्याय, संसदलगायत सेवाका लागि कूल १ हजार ९६ पदमा बुधबार विज्ञापन खुलाइएको छ ।
त्यसमध्ये खुलाबाट ४१९ र बढुवाबाट ३२८ जनाको पदपूर्ति हुने आयोगले जनाएको छ । ३४९ जना समावेशी समूहबाट लिइने भएको छ ।
विज्ञापन अनुसार प्रशासन सेवाको सामान्य प्रशासन समूहमा ५६० जना अधिकृत मागिएको छ । त्यसमध्ये खुल्लाबाट २१६ र बढुवाबाट १६८ जनाको पदपूर्ति हुने भएको छ ।
उक्त समूहमा समावेशीतर्फ महिलामा ५८, आदिवासी जनजातीमा ४८, मधेसीमा ३९, दलितमा १५, अपांगमा ९ र पिछडिएको क्षेत्रमा ७ जनाको कोटा राखिएको छ ।
राजश्व समूहमा ६९, लेखापरीक्षण समूहमा ४२, लेखा समूहमा ३० जना अधिकृतको माग भएको आयोगले जनाएको छ ।
व्यवस्थापिका संसद सेवातर्फ २८ जना र न्याय सेवा तर्फ न्याय समूहमा २९०, कानुन समूहमा ४९ र सरकारी वकिल समूहमा २४ अधिकृतको अवसर छ ।
परराष्ट्र सेवामा ४ जना अधिकृतले जागिर पाउने छन् । आन्तरिक बढुवाका लागि आवेदन दिने म्याद २९ पुस तोकिएको छ ।
खुल्ला तथा समावेसी पदमा प्रतिस्पर्धा गर्नेले १५ पुससम्म आवेदन दिनुपर्छ । दोब्बर दस्तुर तिरेर २२ पुससम्म आवेदन दिन सकिने भएको छ ।