याङ्गुन । म्यान्मारमा एउटा अमेरिकी पत्रकारलाई त्यहाँको सैन्य अदालतले ११ वर्षको जेल सजाय सुनाएको छ । अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई अदालतले ११ वर्ष जेल सजाय दिने निर्णय सुनाएको हो । बीबीसीका अनुसार फेन्स्टरले अध्यागमन कानुन उल्लङ्घन गरेको, गैरकानुनी सङ्गठन गरेको र सेनाविरुद्ध विद्रोह गर्न प्रोत्साहन गरेको ठहर उक्त अदालतको छ ।
केही दिनअघि उनीविरुद्ध सैन्य सरकारले राजद्रोह र आतङ्कवादका अन्य दुई अभियोग लगाएको थियो। ती अभियोग प्रमाणित हुँदा आजीवन कारावास पनि हुनसक्छ। तर नयाँ मुद्दामा निर्णय हुन बाँकी रहेको समाचारमा उल्लेख छ । ३७ वर्षीय फेन्स्टर फ्रन्टीअर म्यान्मार अनलाइन साइटका प्रबन्ध सम्पादक हुन् । उनलाई मे महिनामा याङ्गुनस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।
सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि म्यान्मारमा दर्जनौँ पत्रकार पक्राउ परेका थिए । फ्रन्टीअरका अनुसार फेन्स्टरले पहिला सेनाको आलोचना गर्ने म्यान्मार नाऊ नामक स्वतन्त्र सामाचार साइटका लागि समेत काम गरेको समाचारमा उल्लेख छ । ड्यानीले जुलाई २०२० मै म्यान्मार नाऊबाट राजीनामा दिएका थिए र अर्को महिना फ्रन्टीअरसँग आबद्ध भएका थिए ।